१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा संक्रमण, भारतबाट फर्किनेको व्यवस्थापन गरिएन


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ ११ । कैलालीमा ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा संक्रमण देखिन थालेपछि कोरोनाभाइरस समुदायस्तरमा फैलिन थालेको आँकलन हुन थालेको छ ।

जिल्लामा कुल संक्रमितको झन्डै ४ प्रतिशत संक्रमित समुदायस्तरमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कैलालीमा अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षक, सवारीचालक तथा सर्वसाधारणमा कोरोना देखिन थालेको छ ।

नेपालमै पहिलोपटक स्थानीयमा संक्रमण फेलापरेको कैलालीमा समुदायस्तरमा कोरोनाभाइरस फैलिँदै गएको छ ।

अहिलेसम्म भेटिएका एक हजार ४५१ मध्ये ५८ जनामा सामुदायिक संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिकासहित जिल्लाका सात स्थानीय तहमा सामुदायिक संक्रमण देखिएको छ । जिल्लामा सबैभन्दा बढी धनगढीमा सामुदायिक संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयकाअनुसार ५८ जनामध्ये धनगढी उपमहानगरपालिकामा मात्र २३ जनालाई सामुदायिक संक्रमण देखिएको छ ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले परीक्षणको दायरा बढाउने तयारी भइरहेको बताउनुभयो ।

तर, चिकित्सकहरुले भने कैलालीमा समुदायस्तरमा कोरोना फैलिएको भएपनि वा निश्चित क्षेत्र, समूह एवं स्थान विशेषमा मात्रै सीमित देखिएको बताएका छन् ।

सेती प्रादेशिक अस्पतालका कोभिड-१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले चैतमै न्यूनरुपमा देखिएको स्थानीय संक्रमण अहिले बढ्न थालेको बताउनुभयो ।

तर, स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डको पालना भएन भने तेस्रो चरणमा रहेको कोरोना महामारीको चरणमा प्रवेश गर्ने भन्दै सचेतना अपनाउन उहाँको सुझाव छ ।

कैलालीका स्थानीय तहले पछिल्लो समय भारतबाट फर्किनेहरुको व्यवस्थापन गर्न छोडेका थिए ।

विद्यालय खुलाउने भन्दै यसअघि सञ्चालनमा रहेका ‘क्वारेन्टिन’ बन्द गरिएपछि उनीहरुलाई सोझै घर पठाउन थालिएको थियो ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले विगतमा संघीय सरकारको विद्यालय सञ्चालन गर्ने निर्णयका कारण विद्यालयमा स्थापना गरिएका क्वारेन्टिन बन्द गरिएको बताउनुहुन्छ ।

अब भारतबाट फर्कनेहरुलाई व्यवस्थापन गर्न क्वारेन्टिन र ‘होल्डिङ सेन्टर’ स्थापना गर्ने तयारी रहेको उहाँ बताउनुहुन्छ ।

उपमहानगरपालिकाभित्र २१८ जनामा संक्रमण पुष्टि भएकोमा ४५ जनाको ट्राभल हिस्ट्री नभएका संक्रमित छन् ।

अहिलेसम्म ट्राभल हिस्ट्री नभएका १२ जना स्वास्थ्यकर्मी, पाँचजना सुरक्षाकर्मी, चारजना शिक्षक र चारजना व्यापारीमा संक्रमण पुष्टि भएको छ ।

भिडियो हेर्नुहोस्

‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा संक्रमण, भारतबाट फर्किनेको व्यवस्थापन गरिएन

‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा संक्रमण, भारतबाट फर्किनेको व्यवस्थापन गरिएनhttps://www.imagekhabar.com/news/172784/

Posted by ImageKhabar.com on Thursday, August 27, 2020