
डडेल्धुरास्थित कोरोना परीक्षण प्रयोगशाला। फाइल तस्वीर।
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ ११ । सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
तीनओटै प्रयोगशालामा गरेर पछिल्लो २४ घन्टामा ९२१ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमा बैतडीका १७, कैलालीका १२, डोटीका छ र बझाङका एकजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६९४ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये चार हजार ७०० जनाभन्दा बढीले कोरोनालाई जितेको बताइएको छ । १४ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्