
-नारायण पौडेल
पृष्ठभूमी
आगामी फागुन ७ गते १४ औं केन्द्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका बनाएको नेपाली काँग्रेस अहिले कोरोना महामारीको उच्च जोखिममा समेत क्रियाशील सदस्यता वितरण अभियानमा जुटिरहेको छ । तर केन्द्रमा पार्टीको विभाग गठन, मनोनयन, विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश, क्रियाशील सदस्यता वितरण, पुराना नेता तथा कार्यकर्ताहरुमाथि भएको कारवाही लगायतका बिषयहरुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहवीच विवाद कायमै छ ।
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सम्पन्न पहिलो आमनिर्वाचनमा अभूतपूर्व पराजय भोगेको काँग्रेस अहिले तीनैतहका सरकारमा अंकगणितिय हिसाबले निकै कमजोर देखिन्छ । तथापी कोभिड–१९ को विश्वव्यापी महामारीका बाबजुद पनि काँग्रेसमा महाधिवेशनले प्राथमिकता पाएको छ र आगामी महाधिवेशनबाट नयाँ सक्षम नेतृत्व चयन हुनुपर्नेमा सबै नेता तथा कार्यकर्ताहरुले जोड दिँदै आएका छन् ।
कानुनी प्रावधान
काँग्रेसको विधानको दफा १५ अनुसार केन्द्रिय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हो । जसको अहिले यथाशक्य छिटो आवश्यकता देखिएको छ । किनकी नेपाली काँग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौमा सम्पन्न भएको थियो र उक्त महाधिवेशनबाट पार्टी सभापतिका रुपमा शेरबहादुर देउवा निर्वाचित भएका थिए, जो अहिलेपनि पार्टी सभापति नै छन् । तर पार्टी तथा मुलुकको यस्तो बिषम परिस्थितीमा पार्टीले अंगीकार गर्ने सिद्धान्त, नीति तथा कार्यक्रम विहिनताको परिस्थितीमा काँग्रेस गुज्रिरहेको छ ।
नेपाली काँग्रेस पार्टीको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ बर्षको हुनेछ भन्ने व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार देउवाको कार्यकाल २०७६ फागुनमै समाप्त भईसकेको छ । तर सोही दफामा उल्लेखित असाधारण स्थिती भएमा केन्द्रिय कार्यसमितिले सोको कारण खोली बढीमा एकबर्षसम्मको अवधि बढाउन सक्नेछ भन्ने व्यवस्था बमोजिम देउवाले पार्टी केन्द्रिय कार्यसमितिबाट निर्णय गराई सो एकबर्षे कार्यकाल पनि थप गरिसकेका छन् र यसरी हेर्दा आगामी फागुन महिनामा पार्टीको महाधिवेशन सम्पन्न हुनसक्दा पार्टीको बैधता कायमै रहने देखिन्छ ।
नेपालको संविधान २०७२ को धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धमा उपधारा (४)(ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच बर्षमा एकपटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिती उत्पन्न भई पाँच बर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्रमा त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था छ ।
यद्यपी काँग्रेसको विधानको दफा ४३ मा पदावधि ४ बर्ष र असाधारण स्थितीमा बढीमा एकबर्षसम्म अवधि बढाउन सकिने व्यवस्था मात्रै रहेकाले संविधानमा उल्लेखित थप ६ महिना अवधि आकर्षित हुन सक्दैन । तथापी वर्तमान सभापति देउवा संविधानको व्यवस्था कार्यान्वयन गरी काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौमा मात्रै गर्ने मनस्थितीमा रहेको काँग्रेसका उनी निकट एक युवा नेता बताउँछन् ।
यसरी हेर्दा देउवाको ४ बर्षे कार्यकाल गत फागुनमा समाप्त भई पार्टीको विधानको दफा ४३ बमोजिम एकबर्षे कार्यकाल थपिसकिएको र सो कार्यकाल पनि आउँदो फागुनमा समाप्त हुँदैछ । तर संविधानमा व्यवस्था भए बमोजिम थप ६ महिना अवधि लब्याउने कसरतमा देउवा लागिरहेको भएपनि उक्त ६ महिनाको थप अवधि पार्टीको विधानमा उल्लेख गरेको हुनुपर्दछ भन्ने संवैधानिक व्यवस्था हो भनी बुझ्न जरुरी छ ।
बहस
अहिले नेपाली काँग्रेस पार्टीभित्र विशेषगरी सर्वसम्मत नेतृत्व चयन र दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण सम्बन्धी दुईवटा प्रक्रियाहरुमा गम्भीर छलफल भईरहेको छ । जुन बिषय काँग्रेसको राजनीतिक जीवनमा निकै महत्वपूर्ण मान्न सकिन्छ । किनकी अधिकांश नेपाली जनता र काँग्रेसका नेता तथा कार्यकर्ताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलले अब काँग्रेस हाँक्न सक्दैनन् भन्ने निष्कर्षमा पुगिसकेका छन् भने विभिन्न सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यमहरुलाई हेर्दा पनि काँग्रेसको नेतृत्व दोस्रो पुस्तामा नै हस्तान्तरण हुनुपर्ने अभिमत बढी छ । तर यस्तो अवस्थामा १४ औं महाधिवेशनमा पार्टी सभापतिका निर्विकल्प प्रतिस्पर्धी देउवा र पौडेल आ–आफ्नै जोडघटाउ तथा उछितो काड्नमै व्यस्त देखिन्छन् । साथै उनीहरुलाई पार्टीभित्र अन्य नेताहरु पनि हाम्रा प्रतिस्पर्धी हुनसक्छन् भन्ने सोच्नसम्म फुर्सद छैन ।
पार्टीभित्रको यस्तै परिस्थितीमा दोस्रो पुस्ताका भनिने नेताहरु वर्तमान महामन्त्री डा.शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, अर्जुननरसिंह केसी, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताईसकेका छन् भने काँग्रेस युवा नेता गगन थापा समेत आवश्यकताका आधारमा आफू पनि पार्टी सभापतिको उम्मेदवार बन्न सक्ने बताउँछन् । तर पार्टी सभापतिको दाबी गर्ने पौडेल सहितका ६ जना नेताहरु गत आमनिर्वाचनमा पराजित व्यक्तिहरु हुन् ।
मुलुकमा आमनिर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा समेत निर्वाचनमा पराजित नेताहरु पराजयको कारण पहिल्याउनतर्फ लागेका छैनन् भने उनीहरु आत्मालोचना गर्न तयार पनि छैनन् । तर आसन्न महाधिवेशनमा पार्टी सभापति तथा पदाधिकारीको उम्मेदवारी घोषणा गर्दै हिँडिरहेका छन् । तथापी उनीहरुसँग पार्टी बलियो बनाउने र मुुलुकको समृद्धि हासिल गर्ने गराउने सन्दर्भमा कुनैपनि एजेण्डाहरु देखिँदैनन् ।
साथै निर्वाचनमा पराजित हुनुको कारण आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु भएको बताउँदै आएका उनीहरु आफ्नै कमजोरीका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको तथ्यलाई स्विकार गर्दैनन् । यसरी केन्द्र तथा प्रदेश निर्वाचनमा पराजित हुने नेताहरुको पार्टी सभापति तथा पदाधिकारी हुने तीव्र चाहना भईरहँदा उनीहरु आगामी निर्वाचनमा आफू वा पार्टी पराजित भएमा पद छाड्छौं भन्न समेत डराउँछन् ।
समीकरण
नेपाली काँग्रेस पार्टीभित्र अहिले त्रिकोणात्मक समीकरण देखिन्छ । जुन समीकरण पार्टीको १३ औं महाधिवेशनबाट प्रारम्भ भएको हो । जस अन्तर्गत देउवा, पौडेल र सिटौला समुह काँग्रेसभित्र क्रियाशील रहेका छन् र यो बाहेक शाखा समुह समेत काँग्रेसभित्र क्रियाशील छ । त्यसमध्ये अहिले देउवाले नेतृत्व गरेको समुह शक्तिशाली मानिन्छ भने त्यो समूहले अहिलेसम्म देउवाको विकल्प खोजेको छैन र सर्वमान्य नेताका रुपमा देउवा नै देखिन्छन् ।
त्यस्तै पौडेलले नेतृत्व गरेको भनिएको अर्को समुह पनि करिब देउवा समुह जत्तिकै शक्तिशाली मानिन्छ । तर यो समुहमा एकले अर्कालाई नेता मान्ने प्रवृत्ति निकै कम छ र को भन्दा को कम भन्ने होडबाजी सँधै चलिरहन्छ । यसकारण यो समुहमा सर्वसम्मत निर्णय हुन कठिन देखिन्छ । अर्कोतर्फ सिटौलाले नेतृत्व गरेको समुह १४ औं महाधिवेशनमा पनि निर्णायक बन्न सक्ने बताईन्छ । सायद त्यसैले होला सिटौलाले देउवा र पौडेललाई सन्तुलनमा नै राखिरहेका छन् भने उनको घनिष्टता महामन्त्री डा.शशांक कोइराला प्रति बढिरहेको बताईन्छ ।
यस्तो गुट उपगुटबाट गुज्रिरहेको काँग्रेसभित्र युवाहरुले भने छुट्टै गुट निर्माण गरी पहिलो पुस्ताका नेताहरुलाई दबाब दिन सकिरहेका छैनन् । विशेषगरी काँग्रेसमा युवा मानिने धनराज गुरुङ, डा. चन्द्र भण्डारी, बद्री पाण्डे, कल्याण गुरुङ, रञ्जित कर्ण, केशव सिंह लगायतका नेताहरु पौडेल गुटमा, गगन थापा र प्रदिप पौडेल सिटौला गुटमा र विश्वप्रकाश शर्मा, गोविन्द भट्टराई, महेन्द्र शर्मा, शंकर भण्डारी लगायतका नेताहरु देउवा गुटमा जोडिएका छन् र यी युवाहरुले समेत पहिलो तथा दोस्रो पुस्ताका नेताहरुको चाकडी नगरी आफूहरु नेतृत्वमा स्थापित हुनेमा आशंका गरिरहेका छन् ।
तर यस्तो परिस्थितीमा काँग्रेसभित्र रहेका आशालाग्दा युवा नेताहरु जति सबै एकैठाउँमा उभिएर अघिल्लो पुस्ताका नेताहरुलाई ससम्मान बिदाई गर्दै आफूहरुले पार्टीलाई बलियो बनाउने, आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने र मुलुकको समृद्धि हासिल गर्नमा ठोस कार्यक्रमहरु सहितको स्पष्ट खाका ल्याउन सक्ने हो भने उनीहरुप्रतिको भरोसामा विश्वास गर्न सकिने वातावरण पक्कैपनि बन्ने थियो ।
दुर्भाग्य उनीहरुसँग पनि अहिलेसम्म पार्टी, देश र जनतालाई बलियो बनाउने कुनैपनि कार्यक्रम देखिएन । यस्तो वैचारिक शुन्यतामा पार्टी कसरी अगाडि बढ्न सक्छ ? कुनैपनि पार्टी बलियो हुन त ठोस नीति तथा कार्यक्रम अनिवार्य हुनुपर्दछ । किनकी विगत भजाएर अब नेता बन्न सकिँदैन र नेता बन्न खोज्नु पनि हुँदैन । त्यस्तै अब जनताले भाषण होईन, विकास र निकास खोजिरहेका छन् । यसतर्फ गम्भीर हुनु अति जरुरी देखिन्छ ।
ध्रुवीकरण
काँग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिमा शेर बहादुर देउवा र रामचन्द्र पौडेल स्वभाविक उम्मेदवार हुन् र उनीहरुले पार्टीको १५ औं महाधिवेशन आफ्नो अनुकुल नभएको स्पष्ट बुझेका पनि छन् । सायद यो बुझाई दोस्रो पुस्ताका नेताहरु जो धमाधम पार्टी सभापतिको उम्मेदवारी घोषणा गरिरहेका छन्, उनीहरुमा पनि छ । त्यसैले काँग्रेसको १४ औं महाधिवेशनमा ठूलै भिडन्त हुनसक्ने आँकलन गर्न सकिन्छ ।
साथै पौडेल र देउवा सभापतिको दौडबाट बाहिरिने छन् भन्ने आँकलन पनि हुन थालेको छ । तर उनीहरु सजिलै पछाडि हट्छन् भनी अनुमान गर्नु गलत हुनेछ र त्यस्तो बलियो सम्भावना पनि केही देखिएको छैन । किनकी यो महाधिवेशनले पार्टीका पहिलो र दोस्रो पुस्ताका नेताहरुलाई जति समेट्न सक्छ, त्यो बाहेक अर्को महाधिवेशनमा उनीहरुको क्रियाशीलता अवश्य नै घट्छ, घट्नुपर्दछ ।
सभापति शेरबहादुर देउवाबाट मनपरी भयो, एकतर्फी आफू अनुकुलका निर्णयहरु मात्रै भए, यस्तो बिषम परिस्थितीमा पार्टी नाजुक अवस्थामा पुग्यो, संसदमा प्रतिपक्षको भूमिका प्रभावकारी भएन, अब पार्टी यस्तो रुढीवादी परम्पराबाट चल्दैन र पार्टीलाई नयाँ ढंगले चलाउन तथा देश र जनताको भरोसा योग्य पार्टी बनाउन आउँदो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्दछ भन्ने माग काँग्रेसभित्र बलियो रुपमा स्थापित हुन थालेको छ ।
यसै सन्दर्भमा महामन्त्री डा. शशांक कोइरालाले देउवालाई हराउन सक्ने आफू एकमात्र उम्मेदवार भएको बताईरहँदा केन्द्रिय सदस्य डा. शेखर कोइराला आफू एक कार्यकालका लागि मात्रै पार्टी सभापति बन्ने र प्रधानमन्त्री तथा पार्टी सभापति फरक फरक व्यक्ति हुनुपर्ने शर्त सहित भावी सभापतिको दाबी प्रस्तुत गरिरहेका छन् ।
अर्कातर्फ पद भन्दा पार्टी ठूलो हुने भएकाले र देउवाका कारण काँग्रेस कमजोर भएको हुँदा कमजोर काँग्रेसलाई बलियो बनाउन र बाबु गणेशमान सिंहले चाहेजस्तो पार्टी बनाउन आफू सभापतिमा उठ्ने काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहको तर्क छ । त्यस्तै १३ औं महाधिवेशनमा देउवाले आफूलाई पार्टी सभापतिमा सहयोग गरेवापत १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्नुपर्ने भन्दै पार्टी उपसभापति विमलेन्द्र निधीले पनि आफ्नो उम्मेदवारी प्रस्तुत गरिसकेका छन् ।
तर निधीको उम्मेदवारी देउवाकै रणनीति अनुरुप सही समयमा देउवा इतरका शक्तिहरुवीच तालमेल नहोस् भन्ने उद्देश्यका साथ फालिएको एउटा कार्ड मात्र हो । किनकी देउवा खेमामा निधीले फरक मत राखेपछि वा आफ्नो दाबी प्रस्तुत गरेपछि देउवा आफैं कमजोर हुने विश्वासमा इतर शक्तिहरु एकढिक्का हुँदैनन् र यो खेलले आफू बलियो भईरहने देउवाको बुझाई छ ।
चासो
काँग्रेसभित्रको यस्तो चर्चा परिचर्चामा विशेषगरी भारतीय संस्थापन पक्ष निधीलाई सभापति बनाउने कसरतमा लागेको बुझिएको छ भने भारतीय कँग्रेस पार्टी कोइरालाहरुको बिरासत नेपाली काँग्रेसमा कायम गराउन क्रियाशील भईरहेको बताईन्छ । तथापी भारतीयहरुको खेल निर्णायक नहोला, किनकी मतदानमा मत दिने भनेको नेपालीहरुले हो र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधीहरुले हो । यद्यपी यो भारतीयहरुको चासोको बिषय भने अवश्य बनिरहेको छ । यो बाहेक काँग्रेसको नेतृत्वमा कसलाई ल्याउने भन्नेमा अमेरिका, चीन र युरोपियन युनियन लगायतका निकायहरुको पनि उत्तिकै भूमिका हुन सक्ने परराष्ट्रविदहरु बताउँछन् ।
त्यस्तै काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा काँग्रेसमा कस्तो नेतृत्व आउला भन्ने बिषयले नेकपामा पनि प्रवेश पाएको बताईन्छ । अहिलेको नेकपा नेतृत्वले देउवा नै आगामी महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए आफ्नो पार्टीलाई अनुकुल वा सहज हुने ठानिरहेको छ । किनकी अहिलेको सरकारबाट भएका कतिपय असंवैधानिक कदमहरुमा पनि देउवा मौन छन् र भोलीका दिनमा पनि मौन नै रहनेछन् भन्ने विश्वास नेकपालाई छ । तर देउवा बाहेक अन्य जुनसुकै व्यक्ति पनि काँग्रेस सभापति भएमा नेकपालाई अहिलेजस्तो सहज पक्कै हुने छैन भन्ने कुरा ओली, प्रचण्ड, नेपाल र खनालले राम्रो सँग बुझेका छन् ।
उपसंहार
काँग्रेस कुनै एक व्यक्ति वा समुहको सम्पत्ति होईन, हुनुहुँदैन र काँग्रेस सम्पूर्ण नेपाली जनताहरुको सम्पत्ति हो, हुनुपर्दछ । काँग्रेस र प्रजातन्त्रको नाममा लाखौं नेपालीहरुले बलिदानी दिएका छन् र दिईरहने छन् । अहिले देखिएका नेता तथा कार्यकर्ताहरुको मात्रै नभएर नदेखिएका धेरै शुभेच्छुकहरुको साझा पार्टी काँग्रेस हो र हुनुपर्दछ । त्यस्तै काँग्रेस नेकपाको विकल्प होईन र बन्न खोज्नु हुँदैन । किनकी काँग्रेस त एउटा संस्कार हो, जीवन हो, दर्शन हो र यसलाई समयसापेक्ष गोडमेल गर्दै सम्पूर्ण नेपाली जनताहरुको भरोसाको केन्द्रविन्दु बनाउनुपर्दछ ।
यस्तो अवस्थामा अहिले गतिशील काँग्रेस चाहिएको छ, वैचारिक काँग्रेस चाहिएको छ र कर्मशील काँग्रेस चाहिएको छ । विगतमा काँग्रेसले गरेका कतिपय क्रियाकलापहरुलाई जनताले मन नपराएकै कारण होला निर्वाचनमा काँग्रेसलाई विजेता बन्न जनताहरुले नै रोके र जसलाई विजेता बनाए, उनीहरुले पनि जनभावना अनुरुपको काम गर्न नसक्दा जनताहरुमा वितृष्णा पैदा भईरहेको अवस्था छ । काँग्रेसलाई जनताले २००७ सालदेखि २०७२ सालसम्म विश्वास गरे, अहिले काँग्रेसप्रतिको जनविश्वास टुटेको छ, यही टुटेको विश्वासलाई जोड्न सक्ने नेतृत्व अब काँग्रेसलाई चाहिएको छ । त्यसैले पनि काँग्रेसभित्र पार्टीलाई वैचारिक तथा गतिशील नेतृत्व प्रदान गर्न सक्ने व्यक्तित्वको खोजी अबको अनिवार्य आवश्यकता हो ।
यसर्थ भावी पार्टी सभापति को हुने भन्दापनि कसको नेतृत्वमा काँग्रेस बलियो बन्नसक्छ, देश र जनताको बृहत्तर हित हुनसक्छ, विपक्षीमा रहेका राजनीतिक दलहरुसँग वैचारिक तथा राजनीतिक तवरले कसले मुकाविला गर्न सक्छ, काँग्रेसले गरेका राम्रा कामहरुको प्रचारप्रसार कसको नेतृत्वमा सम्भव छ, कस्तो व्यक्ति नेतृत्वमा स्थापित हुँदा काँग्रेसका नेता तथा कार्यकर्ता सहित सर्वसाधारण जनताहरुले न्याय र परिवर्तनको अनुभूति गर्न सक्छन्, अनि अबको काँग्रेसको मार्गचित्र के हो र कसले निश्चित दिशामा काँग्रेसलाई डोर्याउन सक्छ भन्ने लगायतका विषयहरुमा छलफल गरी नयाँ नेतृत्व चयन गर्नु काँग्रेसका लागि अपरिहार्य देखिन्छ ।
देउवा र पौडेलको यही कार्यशैलीले नयाँ र बलियो काँग्रेस बन्दैन । त्यसमाथि दोस्रो पुस्ताका भनिने नेताहरुको वर्तमान आचरण र व्यवहारबाट पनि काँग्रेस मजबुद हुने छैन । किनकी विधी र विधानका कुरा गरेर नथाक्ने काँग्रेसी नेताहरुमा आन्तरीक लोकतन्त्रको प्रतिस्पर्धा कहिल्यै भएको छैन । त्यस्तै अहिले तेस्रो पुस्तामा चित्रित गगन थापा, प्रदिप पौडेल, विश्वप्रकाश शर्मा, डा. चन्द्र भण्डारी लगायतका नेताहरुमा पनि काँग्रेस तथा देशलाई यस्तो बनाउँछु भन्ने कुनैपनि भिजन देखिएको छैन ।
त्यसैले आगामी महाधिवेशनमा पार्टी नेतृत्व चयन गर्दा विधी र विधानको अक्षरंश पालना गर्नसक्ने, आमनिर्वाचनमा कम्तीमा पनि पार्टीलाई पहिलो बनाउन सक्ने, गुट उपगुट नियन्त्रण गर्नसक्ने, वैचारिक रुपमा स्पष्ट र नेतृत्व हस्तान्तरणको सवालमा लचिलो व्यक्तिलाई सभापति चयन गर्न सक्ने हो भने काँग्रेस सँग केही भरोसा गर्न सकिन्छ । (लेखक अधिवक्ता हुन्)
प्रतिक्रिया दिनुहोस्