
काठमाडौ. । एमनेष्टि इन्टरनेशनलले भारतको राजधानी नयाँ दिल्लीमा गत फेब्रुअरीमा भएको धार्मिक दंगाका क्रममा गम्भीर मानवअधिकारको उल्लंघन भएको आरोप लगाएको छ ।
हिंसा नियन्त्रण गर्ने बहानामा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर चरम यातनासमेत दिएको आरोप लगाएको छ ।
भारतमा नागरिकतासम्बन्धी विवादास्पद कानुनी व्यवस्थाको विरोधमा हिन्दु र मुसलमान समुदायबीच भएको हिंसामा ४० जनाको मृत्यु भएको थियो ।
एमनेष्टीको प्रतिवेदन सार्वजनिक भएपछि दिल्ली प्रहरीले कुनै प्रतिक्रिया भने जनाएको छैन ।
मुसलमान समुदायमाथि आक्रमण र उनीहरुका सम्पतिमा आगजनी तथा तोडफोड भएपनि प्रहरीले त्यसलाई रोक्ने प्रयाससमेत नगरेको एमनेष्टिको प्रतिवेदनमा उल्लेख छ ।
उक्त कानुनको विरोधमा हिन्दु र मुसलमान समुदायबीच जातीय र धार्मिक हिंसा भएपनि दिल्ली प्रहरीले नियन्त्रण भन्दा पनि हिंसालाई थप प्रोत्साहन गरेको एमनेष्टिको ठहर छ ।
उक्त हिंसामा दुवै तर्फ क्षति भएपनि मुसलमान समुदाय नै बढी आक्रमणको निशानामा परेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त घटनामा मुसलमान समुदायलाई असान्दर्भिक रुपमा आक्रमण र हिंसात्मक गतिविधिमा संलग्न गराइएको एमनेष्टिको दावी छ ।
उक्त हिंसामा हिन्दुहरुको तुलनामा मुसलमान समुदायको हताहतीको संख्या झण्डै तीन गुणा बढी देखिएको बीबीसीले उल्लेख गरेको छ ।
गत वर्ष भारतमा नागरिकता संशोधन विधेयक आएसँगै धार्मिक दंगा भएको हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्