
-राजेश जीसी/ईमेज
प्यूठान । प्यूठानको सुन्दर झिमरुक फाँट पछिल्लो समय मासिँदै गएको छ ।
खाद्यान्नको भण्डार मानिने फाँटमा घरहरुको निर्माणले फाँटको सुन्दरता मासिँदै गएको छ भने खाद्यान्न संकट पनि बढ्दै जाने सम्भावना बढेको छ ।
तल फेदीमा झिम्रुक खोला र माथि समतल फाँटमा कमेरा र चूनले पोतिएका बाक्ला घरहरु लहरै । सूर्यको पहिलो किरण पर्नासाथ टलक्क टलकिन्छ सुन्दर बिजुवार बजार ।
तर, पछिल्लो समयमा नगरपालिका क्षेत्रभित्र रहेको झिमरुक फाँट मासिँदै गएको छ ।
प्यूठानका लागि आवश्यक पर्ने खाद्यान्नको आधा हिस्सा ओगटेको यो फाँटमा पछिल्ला केही वर्षदेखि प्लटिङ्ग र अव्यवस्थित घरहरु निर्माण गर्दा एकातिर फाँट कुरुप बन्दै गएको छ भने अर्काेतिर खेतीयोग्य जमिन पनि मासिँदै गएको छ ।
झिमरुक र डुम्म्री खोलामा वर्षेनी आउने बाढीले यहाँका फाँटहरु कटान गरिरहेको छ ।
जिल्लामा उत्पादन हुने खाद्यान्नको ५० प्रतिशत उत्पादन हुने भएपनि अहिले यो फाँट मासिँदै गएको छ ।
सरकारले कम खेती हुने स्थानमा आवास र धेरै उब्जनी जमिनमा खेतीपाती गर्नुपर्ने नियम बनाएको छ ।
भवन निर्माण गर्दा स्थानीय सरकारसँग सिफारिस लिएर निर्माण गर्नुपर्ने प्रावधान छ ।
तर यस फाँटमा निर्माण भएका अधिकांश घरहरु सरकारी मापदण्दलाई मिचेर निर्माण गरिएको छ ।
सरकारी मापदण्द विपरित तथा प्राविधिकको स्टिमेट बिना धमाधम स्थायी संरचना निर्माण गर्दा उर्वरभूमि मासिएको छ भने शहर पनि अव्यवस्थित बन्दै गएको छ ।
उता खेतीयोग्य झिमरुक फाँट संरक्षण गर्न भन्दै प्यूठान नगरपालिकाले पहिलो नगरसभाबाट फाँट संरक्षण गर्ने नीति पारित ग¥यो । तर त्यो नीति नगरपालिकाले अहिलेसम्म कार्यान्वयन गरेको छैन ।
नगरपालिकाले व्यवस्थित बस्ती विकासका लागि प्यूठान नगरपालिकाको खैरा, दाखाक्वाडी, रातामाटा, टारी, पुण्यखोला, टिकुरी दम्ती, बाग्दुला, मरन्ठाना खरिवोटलगायतका फाँट माथिको भिरालो बस्ती तोकेको छ ।
तर फाँटमा धमाधम घर निर्माण भइरहँदा पनि नगरपालिकाले नदेखे झैँ गरेको छ । सरकारी नीति तथा मापदण्ड विपरित घर निर्माण हुँदा खेतीयोग्य फाँट मासिँदै गएको छ भने शहर पनि अव्यवस्थित बन्दै गएको छ ।
यसले प्यूठानको सौन्दर्य र महत्व समाप्त हुने मात्र नभइ यस क्षेत्रमा खाद्यान्न संकट पनि बढ्दै जाने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्