
काठमाडौं, भदौ १२ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ ।
मुलुकभर संक्रमणको ‘ग्राफ’मा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन ।
प्राप्त विवरणमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी)मा एक हजार ६३३ जनामा संक्रमण देखिसकेको छ । त्यसमध्ये झन्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् ।
सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै संक्रमण देखिएको थियो ।
त्यसपछि संक्रमण दरमा एक्कासि वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ । सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमित भेटिएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा संक्रमण देखिएको बताउनुभयो ।
उहाँका अनुसार उपत्यकामा मात्रै १६३ जना फेलापरेका छन् । ५०० भन्दा बढी निको भएर फर्किसकेका उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालकाअनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी संक्रमित भएका छन् ।
त्यसमध्ये १८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उहाँले जानकारी दिनुभयो ।
नेपाली सेनामा शुक्रबारसम्म ४०३ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दा बढी संक्रमित भइसकेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्