१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारततर्फ केराउ साथै खाद्य सामाग्रीको तस्करी बढेपछि ओसारपसार र ढुवानीमा प्रतिबन्ध


0
Shares

चितवन । भारततर्फ केराउ लगायतका खाद्य सामाग्रीको तस्करी बढेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ ।

सीमा नाकाको आवतजावतमा पूर्णरुपमा रोक लगाइएपनि सीमावर्ती नाकाबाट हरियो र सेतो केराउ, छोहडा र मरिच भारतर्फ तस्करी बढेपछि जिल्लास्थित सुरक्षा समितिको बैठक बसेर ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको हो ।

सीमावर्ती क्षेत्रबाट लुकिछिपी लैजाने गरेका त्यस्ता सामाग्रीलाई हरेक दिन प्रहरीले बरामद गर्ने गरेको छ ।

कारोबारीहरुले तेस्रो मुलकबाट आउने केराउलगायतका खाद्य सामग्रीहरु वीरगञ्जको नाका हुँदै नवलपरासी भित्र्याउने र सीमा नाकाको दसगजा नजिक गोदाम बनाएर राख्ने गरेका छन् ।

त्यहीबाट साइकल, मोटरसाइकल र स्थानीयलाई प्रयोग गरेर भारततर्फ तस्करी गर्दै आएका छन् ।

नेपालमा प्रति केजी ६० देखि ६५ रुपैयाँमा बिक्री हुने केराउ भारतमा १ सय १० देखि १ सय २० नेपाली रुपैयाँमा बिक्री हुने गरेका कारण भारततर्फ तस्करी बढेको हो ।

गत साउनदेखि भदौको पहिलो सातासम्म प्रहरीले २० लाख बराबरको मटर बरामद गरेर महेशपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।

उक्त अवधिमा ३ सय ३८ क्विण्टल बरामद गरेको केराउ लिलाम गरिएको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।