
वाग्मती, भदौ १३ । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग शनिबारदेखि सञ्चालनमा आएको छ ।
स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनुभयो ।
सिमेन्ट उत्पादनका लागि कच्चापदार्थ तथा जनशक्तिको अभाव नरहेको उल्लेख गर्दै अहिले पूर्ण क्षमतामा नभइ आंशिकरुपमा अर्थात् प्रतिदिन नौ हजार बोरा सिमेन्ट उत्पादन गर्नेगरी सञ्चालन गरिएको बताइएको छ ।
काठमाडौंलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको र निर्माणसम्बन्धी काम बन्द भएकाले उत्पादन गरिएका सिमेन्ट बिक्री वितरणमा समस्या रहेकाले तत्काल पूर्ण क्षमतामा सञ्चालन नहुने उहाँको भनाइ छ ।
कोइलाको मात्रा कम भएकाले आगामी दिनमा कोइलाको अभाव हुन नदिन त्यसको टेन्डरसमेत भइसकेको छ ।
विश्वव्यापीरुपमा कोरोना फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नेपालमा ‘लकडाउन’ भएपछि सो उद्योग पनि बन्द भएको थियो । तर, त्यस अवधि २०७६/७७ मा उत्पादन गरिएका चार लाख बोरा सिमेन्ट उद्योग बन्द भएपनि बिक्री गरिएको थियो ।
गत वर्ष २०७६ सालमा वैशाखदेखि फागुनमा उद्योग मेसिनमा खराबीका कारण पटकपटक उद्योग बन्द भएको थियो । जसका कारण लक्ष्यअनुरुप सिमेन्ट उत्पादन नभइ उद्योग घाटामा गएको हो ।
मेसिन मर्मत र पुुरानो मेसिनले सञ्चालनमा धेरै रकम खर्च भएको बताइएको छ ।
उद्योगमा रहेका मेसिनहरु धेरै पुराना भएको कारण कार्य क्षमतामा ह्रास आएकाले उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्षमता विस्तार गर्ने लक्ष्यसमेत राखेको उद्योग प्रशासनले जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग २०७५/७६ मा मेसिन खराबीका कारण लामो समय बन्द रहँदा घाटामा गएको बताइएको छ ।
आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टका उत्पादन लागत कम रहने र धेरै सिमेन्ट उत्पादन भइ अन्य सिमेन्ट उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकिने त्यहाँका कर्मचारीहरुको भनाइ छ ।
दैनिक तीन हजार मेट्रिकटन क्षमता विस्तार गर्नका लागि उद्योग मन्त्रालयमा केही वर्षअगाडि प्रस्तावसमेत पेस गरिसकेको उद्योगले जनाएको छ ।
२०४३ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका मेसिनहरु पुराना भएका कारण उत्पादन लागत धेरै भएको र उत्पादनमा ह्रास आएकाले उद्योग समस्यामा रहेको महाप्रबन्धक सिंहको भनाइ छ ।
उद्योगको सञ्चालक समितिको अध्यक्ष पदमा उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीलाई नियुक्ति गरिएको छ । उहाँबाट केही सुुधार हुन्छ भनी त्यहाँका कर्मचारीले आशा गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्