
काठमाडौं, भदौ १३ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन मन्त्रीको स्वाब संकलन गरिएको छ ।
सीसीएमसीका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको स्वाब संकलन गरिएको हो ।
शनिबार बिहान उहाँहरुको स्वाब संकलन गरिएको हो ।
उहाँहरुको सचिवालयमा रहेका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको जनाइएको छ ।
सीसीएमसीको बैठक व्यवस्थापनमा खटिएका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मन्त्रीहरु पोखरेल, थापा र ढकाल ‘आइसोलेसन’मा हुनुहुन्छ ।
पोखरेल र थापा आइसोलेसनमा रहेकाले शनिबार (आज)का लागि बोलाइएको नेकपा सचिवालय बैठकसमेत भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्