
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ १३ । सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा शनिबार ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा ७३९ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन महिला र १२ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार अछामका नौ र कैलालीका छजनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।
यहाँ पछिल्लो २४ घन्टामा ३८५ जनाको कोरोना परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले बझाङका २६ जना, बैतडीका २१ र दार्चुलाका दुईजनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ८०३ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये चार हजार ८०० जनाले कोरोनालाई जितेका जनाइएको छ । १४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्