१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या


0
Shares

बागलुङ, भदौ १३ । बागलुङको काठेखोला गाउँपालिका–५, बिहुँ, रिजालचोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् ।

छिमेकीले दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चारजना गम्भीर बिरामी परेका छन् । उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जरिङ्गोको साग दिने रिजालचोक, फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले शनिबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विकले दिएको साग खाएर गत बिहीबार बिहान रिजालचोकका ७१ वर्षीया देउरुपा कँडेल, उहाँकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चूडामणि कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी पर्नुभएको थियो । चारैजनाको धवलागिरि अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो ।

विकले शनिबार घरभन्दा १०० मिटर तलको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

‘आत्महत्या गर्नेलेसमेत विषालु साग स्थानीय मदिरासँग खाएको र केही बिसञ्चो भएपछि घरेलु औषधि खाएर ठिक भएको बुझ्नमा आयो’-रेग्मीले भन्नुभयो-‘सागले मानसिक असर गरेको पनि हुनसक्छ अथवा साग दिएका कारण अन्य बिरामी परेका कारण तनावमा आएर आत्महत्या गरेको हुन पनि सक्दछ ।’

विकको शव परीक्षणका लागि धवलागिरि अस्पताल ल्याउन थालिएको छ ।

विकले दिएको साग खाएपछि चारैजना बेहोस भएका र अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिरामीमध्ये चूडामणि कँडेलको आइसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् । विषालु साग खाएकामा मानसिक विचलन देखिएको छ । रासस