६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तातोपानी नाका संचालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घट्यो


0
Shares

रसुवा । पछिल्लो समय रसुवागढी नाकाबाट चिनियाँ स्याउको आयात घट्दै गएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घटेको हो ।

रसुवागढी नाकाबाट भन्दा तातोपानी नाकाबाट स्याउ आयात गर्दा सस्तो पर्ने भएकाले व्यापारीले तातोपानी नाकाबाट स्याउ आयात बढाएका छन् ।

गत आर्थिक वर्ष २०७६/०७७ मा ९३ करोड ९९ लाख ५७ हजार ७ सय ७३ रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको छ ।

गत वर्षको साउनदेखि असार मसान्तसम्म १ करोड ३९ लाख ७५ हजार ४ सय १५ केजी स्याउ आयात भएको रसुवा भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब ३३ करोड ५ लाख ८७ हजार ५ सय ५६ रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ४१ करोड रुपैयाँको स्याउ आयात भएको तथ्यांकले देखाएको छ ।

नेपाली बजारमा चिनियाँ स्याउको माग बढ्दै गएकाले चीनबाट स्याउ आयात भने बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो ।

भूकम्पपछि रसुवागढी नाका मात्र सञ्चालन हुँदा सबै आयात यहीबाट हुँदै आएको थियो ।

अहिले तातोपानीबाट पनि सामान आयात तथा निर्यात हुन थालेपछि रसुवागढीमा आयात तथा निर्यातमा कमि भएको हो ।

यो नाकाबाट स्याउका साथै नास्पाती पनि आउने गरेको छ ।

यो नाकाबाट तयारी कपडा, स्याउ, जुत्ता–चप्पल, चस्मा र चस्मा फ्रेम र झोला–फाइल व्याग बढी मात्रामा आयात हुने गरेको कार्यालयले जनाएको छ ।