२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कतारमा श्रम कानुन संशोधनः करार अवधि समाप्त हुनुअघि नै रोजगारी बदल्न पाइने


0
Shares

काठमाडौं । कतारले विद्यमान श्रम कानूनमा संशोधन गरेर नयाँ व्यवस्था लागू गरेको छ ।

नयाँ कानुनी व्यवस्था अनुसार रोजगारदाताले आफ्नो रोजगारी बदल्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी श्रमिकहरुका लागि मासिक न्यूनतम एक हजार कतारी रियालसमेत तोकेको छ ।

प्रशासनिक विकास, श्रम र सामाजिक ममामिला मन्त्रालयले देशमा जारी श्रम व्यवस्थामा थप सुधार गरी स्वदेशी तथा विदेशी कामदारका लागि थप लचिलो भएको जनाएको छ ।

कतारमा श्रमिकले रोजगारी बदल्नुअघि रोजगारदाताले अनुमति दिनुपर्ने व्यवस्था मानवअधिकारको विरुद्धमा रहेको भन्दै विभिन्न संघसंस्थाले लामो समयदेखि विरोध गर्दै आएका थिए ।

उक्त व्यवस्थाले चरम श्रम शोषण र मानवअधिकार उल्लंघनका घटना बढेको भन्दै कतार सरकारविरुद्ध दवाव दिँदै आएका थिए ।

नयाँ व्यवस्थासँगै कतारमा रहेका आप्रवासी कामदारले आफ्नो करार अवधि समाप्त हुनुअघि नै रोजगारी बदल्न सक्ने छन् ।

मन्त्रालयले थप रोजगारी सम्झौताहरु अध्यावधिक गर्ने जनाएको छ ।

कतारको राजपत्रमा प्रकाशित भएपछि सरकारले तोकेको भन्दा कम पारिश्रमिक पाउने कामदारले नयाँ व्यवस्था अनुसार भुक्तानी पाउने बताइएको छ ।

यसअघि न्यूनतम ज्याला सुविधा दिएको र समयमै तलब सुविधा उपलब्ध नगराएको भन्दै कतार सरकारको चर्को आलोचना भएको थियो ।

विभिन्न श्रम संगठन र मानवअधिकारवादी संस्थालहरुले निरन्तर दबाब दिएपछि कतार सरकारले श्रमिकका लागि सहज हुने कानूनी व्यवस्था गरेको हो ।

कतार सरकारको यो निर्णयको विभिन्न मानवअधिकारवादी संस्थाहरु स्वागत गरेका छन् ।

न्यूनतम पारिश्रमिकका साथै रोजगारदाताले आवास तथा खाध्यान्न र औषधिउपचारका लागि अतिरिक्त सुविधाहरु थप गरेको मन्त्रालयले दावी गरेको छ ।(एजेन्सी)