१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनले अघि बढायो केरुङ–सिंगाछे रेलमार्गको अध्ययन


0
Shares

काठमाडौं, भदौ १५ । कोभिड–१९ का कारण काठमाडौं–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ ।

चीनले सिंगाछेबाट नेपालको सीमानजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो ।

सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ ।

केरुङबाट काठमाडौंभन्दा केरुङबाट सिंगाछेको दूरी लामो छ ।

काठमाडौं-केरुङ रेलमार्गको अध्ययन कोभिड–१९ का कारण अघि बढ्न नसकेको अवस्थामा चीन सरकारले आफ्नै देशमा पर्ने क्षेत्रमा अध्ययन अघि बढाएको हो ।

चीनमा अहिले केरुङदेखि सिङ्चेसम्मको रेलमार्गको अध्ययन भइरहेको जानकारी पाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुुभयो ।

चीनतर्फको क्षेत्रमा अध्ययन अघि बढ्नु सकारात्मक भएको विभागले जनाएको छ ।

उहाँले भन्नुभयो-‘अवस्था सामान्य भएपछि नेपालतर्फ पनि अध्ययन हुनेछ ।’

कोभिड–१९ का कारण सो रेलमार्गको अध्ययन अघि बढ्न सकिरहेको थिएन । सो रेलमार्गमा चीनतर्फ नेपालतर्फभन्दा धेरै लम्बाइ हुनेछ ।

केरुङबाट नेपालको सीमासम्म झन्डै ४०० देखि ५०० किमि लम्बाइ रहेको छ । नेपालतर्फ रसुवादेखि काठमाडौंसम्म ७२ किमि रहेको छ । काठमाडौंमा टोखालाई ‘जिरो किलो’ मानिएको छ ।

काठमाडौं-केरुङ रेलमार्ग निर्माणलाई नेपाल र चीन दुवै सरकारले उच्च महत्व दिएको पाइन्छ ।

चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई दुई वर्षपहिले नै बुझाएको थियो । त्यसयता पनि अध्ययन अघि बढाउने विषयमा विभिन्न तहका छलफल भइरहेको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणकाक्रममा यस रेलमार्गको अध्ययनका लागि सम्झौता भएको थियो ।

त्यस समयमा भएको राजनीतिक सम्झौताकै आधारमा मंसिरमा काम गर्ने तह (वोर्किङ लेभल) मा सम्झौता भएको थियो ।

सोही भ्रमणमा चिनियाँ टोलीले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको थियो ।

चीन सरकारले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गमा चासो देखाएपछि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । चीन सरकारकै लगानीमा पूर्वसम्भाव्यता अध्ययन भएको थियो ।

सो अध्ययनमा काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग सम्भव छ भन्ने देखिएको थियो ।

काठमाडौं-केरुङ रेलमार्गको अध्ययनका विषयमा नेपाल चिनियाँ अधिकारीबीच पटक-पटक छलफल हुँदै आएको थियो । सो रेलमार्गमा तीन चरणमा गरी अध्ययन सम्पन्न हुने बताइएको छ ।

पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इनभेस्टिगेसन) र तेस्रोमा रेलपंक्ति योजना (रेल्वे अलाइनमेन्ट) रहेको छ । तीनै चरणको अध्ययनका लागि झन्डै दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।

अध्ययनका लागि २०० मिलियन चिनियाँ युयान खर्च हुने अनुमान गरिएको छ । चीनको आर्थिक लगानीमा अध्ययन अघि बढ्दैछ ।

चीनको राष्ट्रिय रेल्वे प्रशासनले केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

सम्भाव्यता अध्ययन प्रतिवेदनले कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त गरेको थियो ।

सो सम्भाव्यता अध्ययन प्रतिवेदनमा काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहित समेटिएको छ ।

यस्तै, सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ । प्रारम्भिक अध्ययनका आधारमा विस्तृत अध्ययन हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यातायात सम्झौताको ‘प्रोटोकल’ले चीनका तीनओटा भूबन्दरगाह तथा चारओटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको थियो ।

यस्तै, हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्गले भूपरिवेष्टित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्ने बताइएको छ । रासस