१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोचाकोच कारागारमा कोरोना फैलिएपछि स्थिति भयावह


0
Shares

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, भदौ १५ । देशका विभिन्न जिल्लामा रहेका ७१ ओटा कारागारमध्ये अधिकांशमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ ।

सीमित स्रोत साधान र पूराना एवं जीर्ण भवनमा रहेका कैदीबन्दीमा पछिल्लो समय कोरोना संक्रमण देखिन थालेको छ ।

पञ्चायती शासनको बेला जेल र यातना भोगेका व्यक्ति नै प्रजातन्त्र स्थापनापछि सरकारमा पुगे । जेललाई यातना नभइ सुधारगृह बनाउनुपर्ने अवधारणा पनि बन्यो ।

गृहमन्त्री रामबहादुर थापाले पद सम्हालेपछि अकस्मात् जेलको निरीक्षण गरेर भौतिक अवस्थामा सुधार गर्ने वचन दिएपछि भने जेल व्यवस्थापन र कैदीबन्दीहरु आशावादी बनेका थिए ।

यद्यपि, गृहमन्त्रीको त्यो भनाइ अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

अहिले भने देशभरिका कारागारका कैदीबन्दीमा कोरोना संक्रमण भएपछि गृहमन्त्रीले आफू चिन्तित भएको प्रतिक्रिया दिन थाल्नुभएको छ ।

राजधानीमा रहेको देशकै पुरानोमध्येको एक केन्द्रीय कारागारमा तीनओटा ‘ब्लक’ छन् ।

वि.सं. २०७२ सालको भूकम्पमा पूर्वाधार भत्किएर १७ जना कैदीबन्दीको मृत्यु भएको यस कारागारमा अहिले कोरोना फैलिएको छ ।

कारागार सुरक्षाका लागि खटिएका २८० सुरक्षाकर्मीमध्ये ५० बढी सुरक्षाकर्मी संक्रमित भएपछि कैदीबन्दीमा त्रास फैलिएको छ ।

ठूला-ठूला भवनकाबीच च्यापिएर रहेको यस कारागारमा १५ सयजनाको क्षमता भएपनि तीन हजार २७१ जना कैदीबन्दी जोखिमपूर्ण अवस्थामा राखिएका छन् । जसमा १५ जना आश्रित बालबालिकाहरुसमेत रहेका छन् ।

कोरोनाबाट बच्ने उपायको मापदण्डमा सामाजिक दूरी मुख्यरुपमा रहेपनि क्षमताभन्दा बढी कैदीबन्दी कोचिएको कारागारमा कोरोना फैलिएपछि स्थिति झन् भयावह बनेको छ ।

कोरोना परीक्षणकाक्रममा संक्रमित थपिँदै जाँदा संक्रमित राख्न कारागारमा छुट्टै कोठा पनि छैन । कैदीबन्दीकै लागि बनेको कारागार परिसरकै अस्पतालमा आवश्यक शय्या पनि छैनन् ।

यद्यपि, कारागार परिसरमै रहेको निर्माणाधीन भवनमा स्थानान्तरण गरिएको तथा लक्षण देखिएकाहरुलाई ‘आइसोलेसन’मा राखिएको केन्द्रीय कारागारका प्रमुख लक्ष्मीप्रसाद भण्डारी बताउनुहुन्छ ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको र कैद मिनाहाको हकमा राज्यले नै काम अघि बढाइरहेपनि यसमा ढिलाइ भएका कारण चुनौती भने थपिँदै गएको उहाँको भनाइ छ ।

यता, ‘भीआईपी’को छनोटमा परेको डिल्लीबजार सदरखोर कारागारमा कार्यरत् एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रहरी अस्पतालमा उपचाररत् र अन्य कैदीबन्दीको हकमा जम्मा चारजनालाईमात्रै कोरोना ‘टेस्ट’ गरिएको छ ।

३०० जनाको क्षमता रहेपनि सो कारागारमा ५५१ जना कैदीबन्दी रहेका छन् ।

यसैगरी, ललितपुरस्थित नक्खु कारागारको क्षमता ५०० जनाको हो । तीनओटा ब्लकको यस कारागारमा नेपाली र विदेशी गरी १५ सय ६० कैदीबन्दी छन् ।

कोरोना महामारी सुरु भएसँगै कारागारमा नयाँ र उपचारका लागि अस्पताल गएकाहरुको भने ‘पीसीआर’ परीक्षण गरिँदै आएको छ ।

कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दीमा कोरोना संक्रमण देखिए स्थिति भयावह हुनसक्छ । त्यसैले सरकारले उपलब्ध स्रोत साधनको अधिकतम् उपयोग गर्दै सबै कैदीबन्दीको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ ।