१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसमा नेतृत्व हत्याउन आकांक्षीबीच हानथाप


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसको गत असारमा बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्धारण गरेपनि पार्टीभित्रको विवाद र कोरोना महामारीले घोषित मिति आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुनेमा आशंका बढेको छ ।

महाधिवेशनकेन्द्रित संशोधित कार्यतालिकासमेत प्रभावित भएपछि घोषित मितिमा महाधिवेशन हुने सम्भावना कम हुँदै गएको हो ।

तरपनि नेतृत्व हत्याउन आकांक्षीबीच हानथाप भने सुरु भइसकेको छ ।

नेपाली कांग्रेसमा घोषित मितिमै महाधिवेशन हुनेमा आशंका उत्पन्न भएपनि नेतृत्वका आकांक्षीहरु आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने जोडबल गरिरहेका छन् ।

पार्टीको १४औं महाधिवेशनमा झन्डै एक दर्जन नेताले नेतृत्वको दाबी गरेसँगै कांग्रेसको इतिहासमा एउटै महाधिवेशनमा नेतृत्वमा दाबी गर्ने नेताहरुको यति धेरै संख्या सम्भवतः पहिलोपटक हो ।

नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका नेताहरुले आफ्नो दाबी किन र केको लागि भनेर दृष्टिकोण प्रस्तुत गर्न सकेका छैनन् ।

वर्तमान नेतृत्वको ध्यान नेतृत्व जोगाउनेमा मात्र केन्द्रित छ भने अन्य आकांक्षी पनि आफू नेतृत्वमा किन र केका लागि भन्नेमा रणभुल्लमै छन् ।

अधिकांश आकांक्षीहरुले वर्तमान नेतृत्वलाई हटाउनु, नेतृत्वको आलोचना, विरोध र पराजित गर्न सक्नुलाई नै आफू नेतृत्वमा पुग्ने योग्यता ठानेका छन् ।

कांग्रेसका पुराना नेता होमनाथ दाहाल देश, जनता र कार्यकर्ताको भावना बुझ्न नसक्ने आकांक्षीहरु आफैं किनारा लाग्ने बताउनुहुन्छ ।

आगामी महाविधेशनबाट नेतृत्व लिने आकांक्षा बोकेका युवा नेताहरुले पनि विचार, नीति, योजना र कार्यक्रमलाईभन्दा नेतृत्वमा मात्रै जोड दिएका छन् ।

उमेर ढल्केका नेताहरुबाट पार्टीको पुनर्ताजकी सम्भव नभएको भन्नेबाहेक पार्टीलाई माथि उठाउने ठोस योजना र कार्यक्रम युवा नेताहरुले पनि प्रस्तुत गर्न सकेका छैनन् ।

तर, नेता दाहाल उमेरलेमात्र युवा नभइ विचार र कार्यदिशा दिन सक्नुपर्ने बताउनुहुन्छ ।

नेतृत्वका लागि कतिपय आकांक्षीहरुले विरासतको सहारा पनि लिएका छन् । उनीहरुसँग पनि कांग्रेसलाई नयाँ दिशामा डोरयाउने नीति तथा कार्यक्रम र जनताका समस्यासँग जुध्ने कुनैपनि दीर्घकालीन योजना छैन ।

नेतृत्वका आकांक्षीहरु पनि वर्तमान नेतृत्वलाई हराउने एजेन्डाकै वरिपरि रुमल्लिएका छन् । राजनीतिमा विरासतलेमात्र काम नगर्ने धारणा राख्नुहुन्छ, नेता दाहाल ।

आकांक्षीहरुले विचार, सिद्धान्त र कार्यदिशाभन्दा व्यक्तिगत महत्वाकांक्षालाई जोड दिएका छन् । अहिले कांग्रेस वैचारिक,राजनीतिक, सांगठनिक र कार्यदिशाविहीन छ ।

यस्तो अवस्थामा नेतृत्वका आकांक्षीहरु सांगठनिक सुधार, वैचारिक बहस र आगामी कार्यदिशाकाबारेमा बहस गर्नुको सट्टा नेतृत्वको विरोध गरेर आफ्नो प्रचार गर्नमा केन्द्रित देखिएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र देखिएको व्यक्तिकेन्द्रित होडबाजीले नेतृत्व परिवर्तन त होला तर वैचारिकरुपमा कांग्रेसलाई स्पष्टता पार्ने सवालमा भने फेरि पनि प्रश्न उठिरहनेछ ।

भिडियो हेर्नुहोस्