
काठमाडौं, भदौ १५ । सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सेप्टेम्बर १५ तारिखपछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन बेलायती नागरिक गरी १८ जनाको टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको हो ।
उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदन्ड पालना गर्नेगरी नियमानुसार यहाँका लोबुचे र मनास्लु हिमाल आरोहण गर्नका लागि ‘चार्टर’ उडानबाट नेपाल आउन दिने निर्णय बैठकले गरेको छ ।
सोमबार बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब विदेशबाट दैनिक ८०० जनासम्म नेपाली नेपाल आउन पाउने निर्णय पनि गरिएको जानकारी दिनुभयो ।
यसअघिको बैठकले कोरोनाकालमा दैनिक ५०० जनासम्ममात्र नेपाली यात्रीलाई नियमित र उद्धार उडानमार्फत् नेपाल ल्याउन पाइने निर्णय गरेको थियो ।
यस्तै, अन्तरजिल्ला र लामो दूरीका यातायातका साधनहरु आउँदो असोज १ गतेबाटमात्रै सञ्चालन गर्ने निर्णय गरिएको छ ।
यसअघि, भदौ १६ गतेबाट सञ्चालन गर्ने निर्णय भएपनि कोरोना संक्रमणको दर बढ्दै गएपछि असोज १ गतेबाटमात्रै सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
नियमित तथा व्यावसायिक आन्तरिक उडानहरुसमेत सोही समयसम्म सञ्चालन नगर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्को सो बैठकले नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथी दर्जामा बढुवा र उपरथी गोकुल भण्डारीको सरुवा गर्नेलगायतका विभिन्न निर्णयहरु गरेको छ ।
निर्णयहरु पढ्नोस्
प्रतिक्रिया दिनुहोस्