१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उद्योग व्यवसायका लागि बैंकहरुमा कर्जाको माग बढ्यो


0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना सुरु भएसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । सरकारले लकडाउन हटाएसँगै कर्जाको माग बढेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ देखि लगाएको लकडाउन असारदेखि खुकुलो भएको थियो ।

साउन महिनामा केही आर्थिक गतिविधि भएपनि भदौको ५ गते देखि पुनः निषेधाज्ञा जारी भएको छ ।

तर, यो बीचमा उद्योग व्यवसायले चालू पुँजीका लागि कर्जा लिएकाले पनि बैंकहरुमा कर्जाको माग बढेको राष्ट्र बैंकले जनाएको छ ।

साउन महिनाभरी २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौ महिनाको दोस्रो हप्तासम्ममा १४ अर्ब कर्जा प्रवाह गरिसकेका छन् ।

चालू आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुमा कर्जाको माग नै आउन सकेको थिएन ।

कोरोनाका कारण लकडाउन, निषेधाज्ञा जारी गरेकाले आर्थिक गतिविधि ठप्प भएको र उद्योग धन्दाबन्द हुँदा कर्जाको माग हुन सकेको थिएन ।

भदौ महिनाको दोस्रो सातसम्मा बैंकहरुले ५ अर्ब निक्षेप संकलन गरेर ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर घटाएका कारण निक्षेप अन्यत्र जाने आँकलन गरिएपनि निक्षेप थपिने क्रम रोकिएको छैन ।

भदौको दोस्रो सातासम्ममा वाणिज्य बैंकहरुले कुल ३४ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।