
-विराज रोस्यारा/ईमेज
कैलाली । तीन साताअघि घर पुरिने गरी गएको पहिरोका कारण कैलालीको चुरे गाउँपालिका–५ पट्रेनी तथा गुँडी गाउँका करिब ४० घर परिवार बिस्थापित भएका छन् ।
खानीडाँडा बजार नजिक राजमार्ग छेउमा उनीहरु त्रिपाल हालेर बसेका छन् । घरसँगै धेरैको खेत बगाएपछि उनीहरुको बिचल्ली भएको छ ।
चुरे गाउँपालिका–५ मा पहिरोले गर्दा ४० घर बिस्थापित भएका हुन । केही घर पहिरोले बगाइसकेको र केही घर पहिरोको उच्च जोखिममा परेपछि स्थानीय तह र प्रशासनले उनीहरुलाई सडक छेउमा त्रिपालमुनी राखेको छ ।
रेडक्रस, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबाट उनीहरुलाई अहिलेसम्म केही थान त्रिपाल मात्रै उपलब्ध भएको छ ।
सडकमा पुगेका उनीहरुलाई खाद्यान्नको अभाव भएको छ । उनीहरु अहिले साँझ बिहान के खाने भन्ने चिन्तामा छन् ।
सडकमा बास बसिरहेका पहिरो पीडितहरु कोही मकै पोलेर खाइरहेका छन् भने कोही नजिकको पसलको साहुबाट उधारो मागेर छाक टारिरहेका छन् ।
बस्ती पूरै जानेगरी पहिरो आएपछि अब त्यो ठाउँमा फर्किनसमेत कुनै ठाउँ छैन ।
दैनिक ज्यालादारीमा काम गरी खर्च धानीरहेका उनीहरुलाई कोरोना भाइरसका कारण जारी निषेधाज्ञाले छाक टार्न झन् मुस्किल भएको हो ।
गाइ, भैँसी पालेर खर्च चलाउनेहरुलाई पनि पहिरोले बिपत्तिमा पारेको छ ।
स्थानीय जनप्रतिनिधिबाट दुई महिनापछि केही राहत उपलब्ध हुने आश्वासन पाएका उनीहरु त्यतिञ्जेल सडकमै बिताउने सोचमा छन् ।
पहिरोले घर बगाएपछि त्यहाँ बस्ने अवस्था नभएको भन्दै सरकारले अब बस्ती सार्ने व्यवस्था गरिदिनु पर्ने उनीहरुको भनाइ छ ।
पहिरोबाट विस्थापित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्थापन गर्नुका साथै दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस्