१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटका प्रहरी निरीक्षकसहित तीनजना निलम्बित


0
Shares

सञ्जय कार्की (इमेज)

रौतहट, भदौ १६ । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत् प्रहरी निरीक्षकसहित तीनजनालाई निलम्बन गरेको छ ।

हिरासतमा रहेका गरुडा नगरपालिका–८, जिगडियाका १९ वर्षीय विजय महरालाई यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत् प्रहरी निरीक्षक नविनकुमार सिंह, प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्नाकुमार सिंहलाई निलम्बन गरेको हो ।

यातनाबाट चिन्ताजनक अवस्थामा पुगेका महराको वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनुअघि महराले पाएको यातनाबारे श्रव्य-दृश्यमार्फत् सार्वजनिक भएको थियो ।

गएको साउन ३१ गते राति गरुडा-८, बसविट्टी, जिंगडियास्थित फलफूल नर्सरी वागबानी फर्ममा कार्यरत् सोही स्थानका २० वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या भएपछि प्रहरीले महरासहित सातजनालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले प्रहरी निरीक्षकसहित तीनजनालाई निलम्बन गरिएको बताउनुभयो ।

प्रहरी निरीक्षक सिंहलाई प्रहरी नियमावली २०७१ नियम ११५ को (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय मियाँ धुनिया र सिंहलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले छ महिनाको लागि निलम्बन गरिएको जनाइएको छ ।