१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिकित्सक र नर्समा धमाधम कोरोना देखिएपछि भरतपुर अस्पताल सुनसान, ओपिडी बन्द हुँदा समस्या


0
Shares

-डोलराज रानाभाट/ईमेज

चितवन । विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकले सजिलै गुणस्तरीय स्वास्थ्य सेवा पाउने भरतपुर अस्पतालमा देशका १५ भन्दा बढी जिल्लाबाट उपचार गराउन आउने गर्दछन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेनका साथै चिकित्सक र नर्समा एक पछि अर्को गरी कोरोना पुष्टि भएपछि ओपिडी सेवा लामो समय बन्द हुँदा उपचार पाउन कठिन भएको छ ।

सस्तो र सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा दिने भरतपुर अस्पतालको ओपिडी सेवा साउन ३२ गतेदेखि ठप्प छ ।

सरकारी अस्पतालकै सेवा धेरै दिनसम्म ठप्प हुँदा कमजोर आर्थिक अवस्था भएका जनताले महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन् भने अस्पताल डुलाउँदा डुलाउँदै उनीहरुको मृत्युसमेत हुन थालेको छ ।

कतिसम्म भने सरकारी अस्पतालमा पनि पर्याप्त आइसीयु र भेन्टिलेटरको अभावमा अकालमै मानिसहरुको मृत्यु भइरहेको छ ।

आइसीयु वेड अभावमा इमरेजेन्सी वार्डमै कोरोनाबाट संक्रमित छोरी गुमाउन वाध्य भए भरतपुरका कृष्ण भुसाल ।

भुसालले आगामी दिनमा अरु जनताले यसैगरी आँखै अगाडी कुनैपनि सन्तान गुमाउन नपरोस भनी सरकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

अस्पताल परिसरमै कोरोना संक्रमित पनि राखेर उपचार गर्दा अन्य बिरामीमा पनि डर पैदा भएको फार्मेसी संचालकहरु बताउँछन् ।

सुरुमा कोरोना अस्थायी अस्पताल निर्माण गरी गम्भीर समस्या नभएका कोरोना संक्रमित त्यहीँबाट निको बनाएर घर पठाए पनि पछि भरतपुर अस्पतालकै ए ब्लकको भुइँ तल्लालाई आइसोलेसन बनाइएको छ ।

कोरोना संक्रमित र अन्य बिरामीलाई छुट्टाछुट््टै ठाउँमा उपचार सुरु गर्नुपर्नेमा बाबुराम भण्डारीको जोड छ । दैनिक एक हजार बिरामी औषधि किन्न आउने साँझा पसल अहिले सुनसान छ ।

ओपिडी बन्द भएको र निषेधाज्ञा जारी भएकाले अस्पतालकै फार्मेसी पनि सुनसान देखिन्छ ।

कोरोनाकै डरले बिरामी नआएको कर्मचारी उत्तम पौडेल बताउनुहुन्छ । अस्पतालमा कोभिड आइसोलेसन रहेपनि संक्रमित ल्याउन लैजान छुट्टै बाटोको व्यवस्था छ ।

तर यसको बारेमा नागरिकलाई बुझाउन पनि आवश्यक भएको पौडेल बताउनहुन्छ ।

अन्य प्रकारका बिरामी आउन कम भएपनि कोरोना परीक्षणका लागि स्वाब दिनेको भने अस्पतालको फिवर क्लिकिनमा भीड लाग्ने गरेको छ ।

अर्थोपेडिक्स र मातृशिशुतर्फका सेवा सुरु गरेको अस्पतालले ओपीडी र इमरजेन्सी एकीकृत रुपमै उपलब्ध गराइरहेको जनाएको छ ।