२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विद्युतीय कार्ड प्रयोगमा राष्ट्र बैंकको निर्देशनः शुल्क सम्झौता गरेर मात्र लिनुपर्ने


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क सम्झौता गरेर मात्र लिन निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा ग्राहकसँग लिने शुल्क सम्झौता गरेर मात्र लिनु पर्ने राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकले पेमेन्ट तथा सेलमेन्टको एकीकृत निर्देशिका जारी गर्दै कार्डको अवधि समाप्त भएको १५ दिन अघि नै शुल्कसहितको जानकारी दिनुपर्ने व्यवस्था गरेको हो ।

बैंक वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

तर, त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइने छैन । कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै ग्राहकलाई त्यसको सूचना दिनुपर्नेछ ।

कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्ने व्यवस्था निर्देशनमा उल्लेख छ ।

अब जुनसुकै बैंकको एटिएम प्रयोग गरेपनि बैंकहरुले त्यसबापतको शुल्कसमेत प्रयोगकर्तासँग लिन पाउने छैनन् ।

कोरोना संक्रमणको महामारी सुरु भएपछि केन्द्रीय बैंकले निर्देशन दिँदै अन्तर बैंक एटिएम कारोबार निःशुल्क गरेको थियो ।

तर, सो व्यवस्थालाई एकीकृत निर्देशमा समावेश गरेर आगामी दिनमा पनि अन्तर बैंक एटिएम कारोबार निःशुल्क गर्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रिपेड कार्ड जारी गर्दाप्रति ग्राहक कारोबारको सीमा तोक्न सक्नेछन् ।

नयाँ व्यवस्था अनुसार बैंकहरुले अधिकतम एक लाख र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले अधिकतम पच्चिस हजारसम्मको कार्ड जारी गर्न सक्नेछन् ।