
इलाम । इलामको नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।
सूर्योदय नगरपालिका– ५ समालबुङ र रोङ गाउँपालिका– ६ को दुर्गम भूभाग सलकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो ।
नेपाल भारत सीमा क्षेत्रका विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको जनाइएको छ ।
बीओपी स्थापनाका लागि स्थानीयले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराएका छन् ।
इलामको रोङ गाउँपालिकाको तिरीङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सीमा विवाद रहेको छ ।
छब्बीसे, हिले पुलखोला, सन्दकपुरलगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दै आएका छन् ।
पशुपतिनगरमा रहेको बीओपीले मात्र यी क्षेत्र हेर्दै आएकोमा समस्या भइरहेको थियो ।
थप दुईवटा बीओपी स्थापना गरिएपछि शान्ति सुरक्षा कायम गर्न सहज भएको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्