
सोमराज पोखरेल (इमेज)
काठमाडौं, भदौ १७ । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण एवं विश्व फ्रेन्चाइज क्रिकेटका नेपाल आइकन सन्दीप लामिछानेले ट्रिनिडाड एण्ड टोबागोमा जारी क्यारेबियन प्रिमियर लिग क्रिकेट (सीपीएल)मा देखाएको प्रदर्शनको चर्चा चुलिएको छ ।
सन्दीपले सीपीएल ट्वेन्टी-ट्वेन्टीको जारी सिजनमा हरेक खेलमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गर्नु समग्र नेपालीका लागि गर्वको विषय भएको छ ।
कोरोनाभाइरसको महामारीबीच नियमित प्रशिक्षण लिएर विभिन्न अवरोधको सामना गर्दै प्रतियोगितामा सहभागिता जनाएर सफलता हासिल गर्नु आफैंमा कठीन काम हो । त्यो काममा सन्दीप सफल हुनु नियमित प्रशिक्षणको मेहनत भएको नेपाली क्रिकेट टिमका टेक्निकल एलालिस्ट रमन शिवाकोटी बताउनुहुन्छ ।
उहाँकाअनुसार सन्दीपले लकडाउन चलिरहेका समयमा समेत नियमितरुपमा प्रशिक्षण गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘ऊ नियमित प्रशिक्षणमा गयो । कहिले टीयू ग्राउन्ड गएर नेट प्राक्टिस गर्दथ्यो, कहिले जिम जान्थ्यो । एकैपटक गएर खेल्न त गाह्रो हुन्थ्यो ।’
शिवाकोटी यसपटक सन्दीपले गरेको प्रदर्शनबाट खुसी हुनुहुन्छ । यसअघि, दुईपटक सीपीएल खेलेको अनुभव लिएका सन्दीपले ती दुई संस्करणमा टिममा पर्न पनि प्रतीक्षा गर्नुपर्दथ्यो । दुवै संस्करणमा आधा खेलमात्र खेल्न पाउनुभयो । यसपटक भने उहाँले सबै खेल खेल्न पाउने निश्चित छ ।
शिवाकोटी भन्नुहुन्छ, ‘सन्दीपल गरेको यो प्रदर्शनले आईपीएलमा सजिलो हुन्छ । उसले आईपीएल पहिलेजस्तो वेट गर्न नपर्ला ।’
अर्थात् विश्वकै सबैभन्दा महँगो इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-ट्वेन्टीमा यसअघिका दुई संस्करण खेलेका सन्दीपले हरेक खेलमा प्लेइङ
सेटमा पर्ने सम्भावना बढी देखिएको छ ।
सन्दीपका म्यानेजरसमेत रहनुभएका शिवाकोटी सीपीएलको प्रदर्शनबाट आइपीएलमा हरेक खेलमा छनोट हुन सजिलो हुने दाबी गर्नुहुन्छ । उहाँकाअनुसार यो लिग अब छिट्टै हुने भएकाले त्यसको छनोट आधार सीपीएल पनि हो । त्यही आधारमा सन्दीपको भाग्य थप चम्कन सक्छ । सन्दीपले सबै खेल खेल्न पाउँदा एक्सपोज अझ बढी हुनेछ ।
सीपीएलमा प्रदर्शन
सन्दीपले यसपटक कमालको प्रदर्शन गर्नुभएको छ । अहिले जारी लिगमा खेलेका सबै खेलमा विकेट लिन सफल हुनुभएको छ । उहाँले अहिलेसम्म खेलेका सातै खेलमा विकेट लिनुभएको छ । तीन खेलमा दोहोरो विकेट लिनुभएको छ । सन्दीपले सात खेलमा १० विकेट लिइसक्नुभएको छ ।
जमैका तलाबाजका तर्फबाट खेलिरहनुभएका सन्दीपको यसपटक इकोनोमी रेट पनि राम्रो रहेको छ ।
शिवाकाटी भन्नुहुन्छ, ‘सबै खेलमा राम्रो खेल्यो । बाँकी तीन खेल पनि राम्रो गर्ला ।’
हुन त उहाँ सम्मिलित तलाबाजले खासै राम्रो खेल्न सकेको छैन । सातमध्ये तीन खेल जित्दा तलाबाजले चार खेल हारेको छ ।
मंगलबार रातिको खेलमा पनि हार व्यहोर्यो । १९ रनले पराजित भएको खेलमा सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिनुभयो । यो सबैभन्दा किफायती इकोनोमी रेट हो । यसअघिको संस्करणमा बार्बाडोस ट्रिडेन्टस्बाट खेल्नुभएका सन्दीपले ६ खेलमात्र खेल्न पाउनुभएको थियो । त्यतिबेला सन्दीपले ८ विकेट लिनुभएको थियो ।
आईपीएलमा राम्रो खेल्ने अपेक्षा
सन्दीपले सीपीएल खेलेपछि सिधै युएईमा हुने आईपीएलमा सहभागिता जनाउन जानुहुनेछ । दिल्ली क्यापिटल्सबाट खेल्दै आउनुभएका सन्दीपले सेप्टेम्बर १९ देखि १० नोभेम्बरसम्म हुने प्रतियोगितामा सहभागिता जनाउनुहुनेछ ।
सन्दीपले यसअघिका संस्करण पनि दिल्लीबाटै खेल्नुभयो । तर, सबै खेल भने कुनैपनि संस्करणमा खेल्न पाउनुभएको छैन । सबैभन्दा ठूलो कुरा अनुभव भएको छ । उहाँले आईपीएलमा इन्ट्री पाएपछि विश्वका अन्य थुप्रै फ्रेन्चाइज लिगमा सहभागिता जनाउन पाउनुभयो । यो नै सबैभन्दा ठूलो सफलता हो । नेपालमा अन्य कुनै खेलाडीले यो सफलता हासिल गर्न सकेका छैनन् ।
उहाँको आम्दानी पनि निकै बढेको छ । आईपीएलमा निकै सस्तोमा (अन्य खेलाडीको तुलनामा) आवद्ध भएपनि त्यसको आधारमा अहिले उहाँको भाउ बढेको छ । अन्य फ्रेन्चाइज प्रतियोगिताले सन्दीपलाई बढी नै रकम दिएका छन् ।
यदि, आईपीएलमा उहाँको सफलता चुलियो भने पक्कैपनि अझ बढी उचाइमा पुग्नेमा दुई मत छैन । सन्दीपले आईपीएल खेल्न थालेदेखि आईपीएल हेर्ने नेपालीहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्