
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, भदौ १७ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर-७, आचार्यचोकस्थित एक खाजाघरबाट जनप्रतिनिधिसहित सातजना जुवाडे पक्राउ परेका छन् ।
स्थानीय एक खाजाघरमा जुवा खेलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार साँझ नगद २३ हजार १९० रुपैयाँसहित सातजनालाई पक्राउ गरेको हो ।
२१२ पत्ति ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका वडा नम्बर-२ का वडासदस्य कालीभक्त शर्मा, वडा नम्बर-७ का सागर गिरी, वडा नम्बर-५ का सागर मल्ल, वडा नम्बर-६ का दीपेन्द्र अधिकारी, सोही ठाउँकै टेकबहादुर पुन, मोदी गाउँपालिका वडा नम्बर-३ का सनम पुन र होटल सञ्चालक प्रकाश रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेका सातैजनालाई बुधबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत् जिल्ला प्रशासन कार्यालयमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुनेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
उनीहरुविरुद्ध पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्