१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना संक्रमण समुदायमा फैलिएकोबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा


0
Shares

mask corona dadeldhura

काठमाडौं, भदौ १७ । सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ ।

कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ‘ट्राभल हिस्ट्री’मा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।

नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।

गत चैतमा विदेशबाट कैलाली घरमा आएका एकजनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो ।

संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हो ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिले ठूलो संख्यामा सबैमा संक्रमण देखिन थालेपछि समुदायमा नै संक्रमण फैलिएको हो कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिनुभयो ।

यसअघि, गत जेठ महिनामा महाशाखाले काठमाडौं उपत्यकामा पनि समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा संक्रमण नफैलिएको बताएको थियो ।

त्यतिबेलाभन्दा अहिले काठमाडौं उपत्यकामा संक्रमण दर बढिरहेको छ । मंगलबार (हिजो)मात्र ४८१ जनामा संक्रमण देखिएको थियो ।

‘संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ’-उहाँले भन्नुभयो-‘अब अध्ययन गरेपछिमात्र समुदायमा संक्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ ।’

महाशाखाले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातओटै प्रदेशमा रगत संकलनका लागि पठाउने महाशाखा निर्देशक डा. पाण्डेले बताउनुभयो ।

सातवटै प्रदेशमा संक्रमण बढी फैलिएका ठाउँमा गइ छ हप्तादेखि कतै नगएका व्यक्तिको रगत संकलन गरिनेछ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको ‘एन्टिबडी’ परीक्षण गरिनेछ ।

एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ ।

सातओटै प्रदेशबाट संकलन भएको रगतको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ ।

महाशाखाका निर्देशक डा. पाण्डेले अबको एक हप्तामा सातओटै प्रदेशमा रगतको नमुना संकलन गर्नका लागि टोली जाने बताउनुभयो ।

उहाँकाअनुसार करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिनेछ ।

‘पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र संक्रमण देखिएको थियो’-उहाँले भन्नुभयो-‘तर, अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि संक्रमण देखिएको छ । काठमाडौंमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा संक्रमण देखिएको छ ।’

विगतमा विदेशमा आएका १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण देखिएपनि अहिले नेपालभित्रकै जो कोहीलाई पनि संक्रमण देखिन थालेको उहाँको भनाइ रहेको छ ।

गत माघ ९ गते नेपालमा पहिलोपटक संक्रमण देखिएको थियो ।

अहिलेसम्म ४६ ओटा प्रयोगशालामा सात लाख पाँच हजार ५६० जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा ४० हजार ५२९ जना कोभिड–१९ को संक्रमण देखिएको छ ।

पीसीआर परीक्षण गरिएकामध्ये संक्रमण दर ५.७ प्रतिशत रहेको छ । तीमध्ये सक्रिय संक्रमण १८ हजार ११२ जनामा रहेको छ । यस्तै, २३९ जनाको संक्रमणका कारणले निधन भइसकेको छ ।

नेपालमा प्रति १० लाख ७.८ प्रतिशत मृत्युदर, संक्रमितमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ ।

मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले समुदायस्तरमा संक्रमण फैलिएकाबारे अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले १२ जिल्लामा खासखास ठाउँमा (कलस्टर)मा संक्रमण देखिएको बताउनुभयो ।

‘यहाँ समुदायमा संक्रमण अझै फैलिएको छैन’-उहाँले भन्नुभयो-‘बाह्र जिल्लामा क्लस्टरमा संक्रमण फैलिएको छ । त्यसलाई नियन्त्रण गर्न सकेनौं भने समुदायमा फैलिने डर छ ।’

अहिलेसम्म २२ हजार १७८ जना संक्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत डिस्चार्ज रहेका छन् ।

अहिले संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना, होम आइसोलेसनमा सात हजार २८० जना र क्वारेन्टिनमा सात हजार ३९० जना रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समुदायमा संक्रमण अझै गइ नसकेकाले बताउनुभयो । उहाँले संक्रमणको सूचक हेर्दा नेपाल तेस्रो चरण प्रवेशकाक्रममा रहेको बताउनुभयो । रासस