१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँचजनाको समूह पक्राउ


0
Shares

विराटनगर, भदौ १७ । व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर, त्रास देखाइ रकम असुल गर्ने पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरी बुधबार विराटनगरमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारत, बिहार, सीतामणि जिल्ला घर भइ विराटनगर, जलजलामोडस्थित चाइनाबजारमा कपडाको कारोबार गर्ने २७ वर्षीय राज साह, मोरङको कहटरी गाउँपालिका–२ बस्ने २६ वर्षीय किसन साह, सोही स्थान बस्ने २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका–८, काचन बस्ने २७ वर्षीय नन्दकिशोर साहलाई विराटनगर र कटहरीबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।

निजहरुले विगत एक वर्षदेखि विभिन्न व्यापारीलाई डर, त्रास एवं धम्की दिइ भिडभाड हुने स्थान विराटनगरको गुद्रीबजार, कञ्चाबारीस्थित नोबेल नहरचोकबाट व्यापारीहरुबाट रु एक लाखदेखि चार लाखसम्म लिने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

निजहरुको साथबाट भारतीय र नेपाली गरी रु ९७ हजार १२०, अटोमेटिक पेस्तोल एक र त्यसमा लाग्ने गोली तीनथान, धम्काउन प्रयोग गरिएका विभिन्न कम्पनीका मोबाइल १६, भारतीय बैंकको दुईथान चेक, तीनथान मोटरसाइकल र चक्कु एकथान बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

रविन शर्माले विराटनगर मलायारोडको नहरछेउबाट एक भारतीयसँग रु एक लाख रकममा पेस्तोल खरिद गरेको बताए ।

निजहरुले व्यवसायीका घरमा पेस्तोल पड्काइ डर, त्रास देखाइ रकम माग गर्ने गरेका थिए ।

आरोपीतले वि.सं. २०७७ असार २५ गते बेलुकी ९८४०४१८२३० नम्बरको मोबाइलबाट एक व्यापारीलाई छोटो सन्देश पठाइ रु १० लाख माग गरी असार २६ गते रु पाँच लाख लिएका छन् भने २०४७ साल साउन १३ गते बेलुकी ९ बजे ९८४०४१८२३० नम्बरको मोबाइलबाट अर्का व्यापारीलाई फोनबाट धम्की दिइ रु १० लाख माग गरेको तथा भदौ १५ गते चाइनाबजारका सञ्चालक रामनरेश साहको घरबाट रु ११ लाख चोरी गरेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

निजहरुले धम्की दिएको एक व्यापारीले दिएको सूचनाका आधारमा आरोपीहरुलाई पक्राउ गरिएको हो ।

निजहरुले गरेका अन्य आपराधिक कार्यका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निजहरुलाई हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा संगठित अपराधमा अनुसन्धान कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

यसैगरी, प्रहरीले विभिन्न समयमा सर्वसाधारण नागरिकको चोरी भएको, हराएको ५३ थान मोबाइल फेला पारी बुधबार सम्बन्धित धनीलाई बुझाइएको छ । रासस