
काठमाडौं । आज पनि विभिन्न मुलुकबाट ४ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने भएका छन् ।
हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ ।
यस्तै, अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले पनि चार्टर्ड उडान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
हिजो आवागमन र प्रस्थान दुवै गरी ५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका थिए । ती उडानमार्फत ३ सय ४८ यात्रु नेपाल फर्किएका छन् ।
विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २ सय १५ जना नेपाली काठमाडौं ल्याएको छ ।
निगमले नियमित उडानअन्तर्गत हिजो काठमाडौं–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो ।
निगमको जहाज हिजो राति काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । हिजो नै मालिन्डो एयरले क्वालालम्पुरबाट १ सय ३३ यात्रु काठमाडौं ल्याएको छ ।
कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । कतार एयरवेजले दोहाबाट ९ हजार ३ सय ४२ कार्गो नेपाल ल्याएको छ ।
आन्तरिकतर्फ हिजो विभिन्न एयरलाइन्सका ५ चार्टर्ड उडान भएका छन् ।
तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्