
विनोदसिंह विष्ट (इमेज)
बैतडी, भदौ १८ । बैतडीमा डेंगी र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।
गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेलापरेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
दशरथचन्द नगरपालिका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।
यस्तै, पाटन नगरपालिकाका तीन महिला र एक पुरुष गरी चारजना, दोगडाकेदार गाउँपालिकाका चार महिला र दुई पुरुष गरी छजना, मेलौली नगरपालिकाका एक महिला, पञ्चेश्वर गाउँपालिकाका एक पुरुष र सिगास गाउँपालिकाका एक महिलामा स्क्रब टाइफस पुुष्टि भएको हो ।
जिल्ला अस्पताल बैतडी र अरु स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरुको ‘आरडीटी’ परीक्षण गर्दा स्क्रब टाइफस देखिएको जोशीले बताउनुभयो ।
गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो ।
यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
यस्तै, जिल्लामा डेंगीका बिरामी पनि देखिन थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीनजनामा डेंगीरोग देखापरेको जोशीले जानकारी दिनुभयो ।
डेंगी एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा उहाँकोे जोड छ ।
स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउनेलगायतका लक्षण देखा पर्छन् ।
डेंगी भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्