
काठमाडौं, भदौ १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो बसेको पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
आजको बैठकले अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभाको रिक्त रहेको पदमा पुनःनियुक्ति गर्ने वा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने विषयमा छलफल गरिने भएको छ ।
बुधबार साँझ सचिवालय बैठकको एजेन्डामाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।
बैठकमा राष्ट्रियसभामा खाली रहेको पदमा मनोनयन गर्नेबारेमा सचिवालय बैठकमै छलफल गरेर निष्कर्षमा पुग्ने अध्यक्षद्वबीच सहमति भएको थियो ।
प्रधानमन्त्री ओलीले डा. खतिवडालाई निरन्तरता दिन चाहेपनि अर्का अध्यक्ष दाहाललगायत पार्टीका वरिष्ठ नेताहरू पार्टी सचिवालयको गत फागुन १४ गतेको निर्णयबमोजिम गौतमलाई राष्ट्रियसभामा लैजाने पक्षमा देखिएका छन् ।
पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनलगायतका विषयमा छलफल गर्ने तयारीसहित यसअघि भदौ १३ बैठक बोलाइएको थियो ।
तर, ‘सीसीएमसी’का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएपछि बिहीबारसम्म बैठक स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्