
काठमाडौं, भदौ १८ । यस वर्षको मनसुन उत्तरार्द्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजीखोलाले अकल्पनीय क्षति पुर्याएको छ ।
दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर आएको भुजीखोलाले यहाँका तीन दर्जन बढी घर बगाएको छ ।
भारी वर्षा हुँदा ठूलो क्षति पुर्याउँछ भन्ने अनुमान लगाउँदा-लगाउँदै जिल्लाले नसोचेको परिणाम बेहोरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनमगर बताउनुहुन्छ ।
प्राप्त विवरणअनुसार अहिलेसम्म बाढीमा परेर ३५ बढी व्यक्ति बेपत्ता छन् । अन्य १२ जनाको शव फेलापरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्रराज पन्तले पाहुना आएकासमेत परेको बुझिएकाले उद्धार र विवरण संकलनको काम जारी रहेको जानकारी दिनुभयो ।
सबै क्षेत्र बगरमा परिणत भएकाले बस्ती कुन ठाउँमा थियो भनेर यकिन गर्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
उपप्रमुख मगरले रासससँग टेलिफोनमा भन्नुभयो-‘बस्तीको नामो निशाना देखिँदैन । अहिलेपनि बस्ती भएर खोला बगिरहेको छ । सबै सोहोरेर लगेको छ ।’
सडक, कुलो, गाउँ-बस्ती सबै क्षतविक्षत भएको उहाँले बताउनुभयो ।
ठाउँ-ठाउँमा पहिरोसमेत खसेको छ । उहाँले खोला थुनिएर फुटेपछि भीषण बाढीको रुप लिएको अनुमान गर्नुभयो । तर, कुन ठाउँमा भएको हो, त्यो यकिन भने हुनसकेको छैन ।
गाउँ क्षेत्रमै भएका प्रहरी र सेनासहित स्थानीयबासीले उद्धारकार्य जारी राखेका छन् ।
जिल्लाको टोली बिहीबार साँझमात्रै पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सडक, बाटो सबै भत्काएकाले हिँडेर घटनास्थल पुगेको राससलाई बताउनुभयो ।
बुर्तिवाङबाट ढोरपाटनका लागि सवारी-साधन चल्ने सडक बाढी र पहिरोले क्षतविक्षत भएको उहाँले जानकारी दिनुभयो ।
‘केही प्रहरी, सेना तथा टोलबासीले उद्धार गरिरहेका छन् । हामीसँग उद्धारका लागि थप टोली छ । उद्धारकार्य प्रभावकारी बनाएका छौं’-प्रजिअ न्यौपानेले भन्नुभयो ।
राहतसहित लिएर गएको गृहमन्त्रीसहितको टोलीसमेत घटनास्थल पुग्न नसकेकाले फर्किएको छ ।
घटनास्थलमा प्रत्यक्ष पुग्नुभएका उपप्रमुख मगरले ढोरपाटनभन्दा तल्लो भेगको खोला किनाराका बस्तीमा क्षति भएको बताउनुभयो ।
उहाँले यहाँको वडा–९ पूर्ण प्रभावित भएको र वडा नम्बर ६, ७, ८ मा समेत क्षति पुगेको बताउनुभयो । धेरै मानवीय क्षति वडा–९ मा भएको छ ।
मुख्यगरी यहाँका फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, बगालेघर (घट्टबास), दुनापढेरा, लाखुरीबोटमा बढी क्षति भएको छ । खनेको नयाँ बाटोबाट निस्किएको लेदोसहित पहिरो खस्दा ठाउँ-ठाउँमा सडक बिग्रिएको छ ।
‘लाँकुरीबोटको अवस्थ हेर्दा बस्ती पूरै बगर बनेकाले कुन ठाएँमा बस्ती थियो भन्नेसमेत पत्ता लगाउन सकिँदैन’-उपप्रमुख मगरले भन्नुुभयो ।
कुनै शव टाउको नभएको, कुनै हात नभएको, कसैको कम्बर नभएको अवस्थामा यत्रतत्र शरीरका अंग बगरमा देखिएको उहाँले बताउनुभयो ।
‘अकल्पनीय घटना भएको छ । यस्तो घटना नि हुन्छ र भन्ने अवस्था छ । पीडादायी अवस्थालाई शब्दमा भन्न सकिँदैन’-मगरले दुःख पोख्दै भन्नुभयो ।
घटरा मध्यरातको हो । अविरल वर्षापछि भुजीखोला यसरी बस्तीमा पसेको हो । उक्त खोलमा अन्य खहरे र ठाडो खोलासमेत मिसिँदा ठूलो रुप लिन पुगेको हो । सबै सुतेको बेला घटना भएकाले पनि बढी मानवीय क्षति भएको छ ।
दायाँ-बायाँ लछार्दै लगेपछि मानिसको राति नै भागाभाग भएको थियो । केही संयोगले बाँचे भने सुतिरहेका धेरै बगेका थिए । राति घटना हुँदा कतिले ऐयाsss समेत भन्न नपाएको स्थानीयबासीले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासी मौसम र भौगोलिक अवस्थाले बागलुङमा जस्ता धेरै घटना बेहोरिएको बताउनुहुन्छ ।
‘ठूलो वर्षा हुने नदेखाएपनि सानो क्षेत्रमा थोरै समयमा पनि धेरै पानी परेको हो’-उहाँले भन्नुभयो ।
उहाँले सो क्षेत्रमा अघिल्लो दिन पानी परेको र त्यसको भोलिपल्ट मंगलबार पनि पानी परेको बताउनुभयो ।
मौसमविद् सविना शाक्य ढोरपाटननजिक राति बुर्तिवाङ क्षेत्रमा ४१ मिलिमिटर पानी परेको देखिएको बताउनुहुन्छ ।
यसपटक बाढी-पहिरोका कारण ३१७ जनाको मृत्यु भइसकेको छ । बढी पहिरोले क्षति पुर्याएको छ । रासस
प्रतिक्रिया दिनुहोस्