१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुटवलमा एक कोरोना संक्रमितको मृत्यु, गौतमबुद्ध मुटु अस्पतालका ११ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल – ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभएको छ ।

उनका अनुसार शुक्रबार बिहान ९ बजे मृत्यु भएका ती पुरुष भदौ ४ गते अस्पताल भर्ना भएका थिए । उनको विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । योसँगै रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने मुलुकभर कोरोनाबाट ज्यान जानेको संख्या २ सय ५८ पुगेको छ ।

मुटु अस्पतालका ११ जनामा संक्रमण

बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका थप ११ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।

बिहीबार राती थप ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकाहरुलाई आइसोलेशनमा उपचारका लागि राखिएको छ ।

संक्रमण पुष्टि नभएकाहरुलाई सुरक्षित राखेर अस्पतालको सेवा शुरु गर्ने अस्पतालले तयारी गरेको छ ।

‘हामीले थप परीक्षणका लागि पनि पठाएका छौं’, अध्यक्ष आलमले भने, ‘नेगेटिभ आएकाहरुलाई सुरक्षित राखेर अस्पतालको सेवा शुरु गर्ने तयारी गरेका छौँ ।’