
काठमाडौं । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ ।
मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो ।
तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिनुभयो ।
बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ । बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् ।
त्यहाँ ३० भन्द बढी घर बगाएको बताइएको छ । सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन ।
मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् ।
शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षीया केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ ।
शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताउनुभयो ।
रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो ।
बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् ।
कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।
पहिरोले फलेघर र सुपुर्दुङका दर्जर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन ।
बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्