
प्रदीप पौडेल (इमेज)
पोखरा, भदौ १९ । पोखरामा हाँसपालन व्यवसाय अहिले रहरलाग्दो देखिन्छ ।
कोरोना कहरकाबीच पनि यहाँका उद्यमी युवाहरु मिलेर हाँसपालन व्यवसाय गरेका हुन् ।
छोटो समयमै आम्दानी लिन थालेका उनीहरुले घरमै हात बाँधेर बस्नुभन्दा कुनै व्यवसायमा लाग्न प्रेरित गरेका छन् ।
वरिपरी पोखरी । हाँसलाई पानीमा डुबुल्की मार्न कुनै समस्या छैन । पोखराको फेवाताल सिरानतिर लौरुकस्थित हर्पन खोलाको किनारमा ‘लकडाउन’कैबीचमा सञ्चालन गरेको बिजी एग्रो एण्ड ब्रिडिङ फार्म प्रालिमा अहिले पाँच हजारभन्दा बढी हाँस छन् ।
गर्मी होस् या जाडो पानीमा रमाउने हाँसले डुबुल्की मारेको र खेलेको हेरेर समय बिताउनकै लागि पनि यहाँ स्थानीयहरु आउने गरेका छन् । हाँस फार्ममा अहिले चारजनाले रोजगारी पनि पाएका छन् ।
करिब २० रोपनी जग्गा भाडामा लिएर अहिले पोखरामै उत्कृष्ट हाँसपालन थालिएको हो ।
लकडाउनमा घरमा बसेर समय बिताउनुभन्दा व्यावसायिकरुपमा केही गर्न हाँसपालन सुरु गरेको युवा उद्यमी विष्णुहरि न्यौपानेले बताउनुभयो ।
विगतमा आफ्नै घरमा हाँस पालेको अनुभव भएकोले पनि व्यावसायिकरुपमा हाँस पाल्न हौसला मिलेको उनीहरुको भनाइ छ ।
लकडाउनका बेला लगानीको वातावरण नबनेपनि उनीहरुले १० हजार हाँस पाल्ने लक्ष्यका साथ व्यवसाय सञ्चालन गरेका हुन् ।
मेहनत गरे गाउँमै पनि पौरख गर्न सकिने भन्दै हाँसपालनका लागि पोखरा उपयुक्त भएको उनीहरुको भनाइ छ ।
उनीहरुले चल्ला आफैं उत्पादन गरेर बिक्री गर्ने योजनाअनुसार ह्याचरी मेसिनसमेत ल्याउने तयारी गरेका छन् । अहिलेमात्र उनीहरुले एक करोड ७० लाख रुपैयाँ हाँसपालनमा लगानी गरिसकेका छन् ।
लकडाउनमै सुरु गरेको हाँसपालन व्यवसायले अहिले नै आम्दानी दिन थालेपछि उनीहरु हर्षित देखिन्छन् ।
वैशाखदेखियतामात्र पनि उनीहरुले झन्डै दुई हजार हाँस बिक्री गरिसकेका छन् । उनीहरुले मस्कोभी, पेकीङ, खागी केमल (लोकल) हाँस गरी चार प्रजातिका हाँस पालेका छन् ।
तर, सरकारले भने व्यवसाय सञ्चालन गर्नेहरुका लागि कुनै प्रोत्साहन नगरेको उनीहरुको गुनासो छ ।
त्यसैलेपनि सामूहिकरुपमा व्यसायमा लाग्नेहरुको लागि सरकारले होस्टेमा हैंसे गरिदिए पक्कैपनि युवा उद्यमीहरुलाई हौसला मिल्ने थियो ।
प्रतिक्रिया दिनुहोस्