१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा


0
Shares

बागलुङ, भदौ १९ । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढीप्रभावितहरुलाई शुक्रबार राहत सामग्री प्रदान गर्नुभएको छ ।

उहाँले ढोरपाटन नगरपालिका–९, सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो ।

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो ।

बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।

राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढीप्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताउनुभएको सासंद पौडेलले जानकारी दिनुभयो ।

‘जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ’-उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले राहत प्रदान गर्ने बताउनुभएको छ ।

यस्तै, पूर्णरुपमा क्षति भएका घरको पुनःनिर्माणका लागि रु. तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको सांसद पौडेलले बताउनुभयो ।

उहाँले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

उहाँले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गर्नुभयो ।

ढोरपाटन नगरपालिकालगायत अन्य संघ-संस्था, व्यक्तिले पनि खाद्यान्नलगायतका अत्यावश्यक सामग्री प्रदान गरेका छन् ।

बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो ।

शुक्रबार पुनः नेपाली सेनाकै हेलिकोप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो ।

बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा बढी वडा नम्बर-९ प्रभावित छ ।

बाढीमा बेपत्ता भएका १४ जनाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा बेपत्ता भएकाको संख्या अझै यकिन छैन ।

खोजी र उद्धारकार्य जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । रासस