
नारायणी लामिछाने (इमेज)
काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ ।
३० महिने कार्यकाल शनिबारदेखि सकिनुअघि नै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुभएको हो ।
गैरराजनीतिक पृष्ठभूमिबाट अर्थमन्त्रीमा नियुक्त हुनुभएका खतिवडाको कार्यकाल उतार-चढावपूर्ण रह्यो ।
साढे दुईवर्षे कार्यकालमा उहाँको केही प्रशंसा भएपनि आलोचना गर्नेहरुको संख्या नै बढी देखियो ।
कोभिडका कारण आर्थिक गतिविधिसमेत सुस्ताएको समयमा भावी अर्थमन्त्रीको कार्यकाल भने चुनौतीपुर्ण हुने देखिएको छ ।
अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको ३० महिने कार्यकाल शनिबारबाट सकिँदै छ । उहाँको कार्यकाल विवादको घेराबाट मुक्त हुनसकेन ।
बजेट कार्यान्वयन गर्न नसकेको तथा सेयरबजारमा सुधार ल्याउन नसकेको र दोहोरो कर लगाइएको भन्दै निजी क्षेत्र सन्तुष्ट बन्न सकेन ।
राजनीतिक नभइ प्राविधिक मान्छेलाई अर्थमन्त्री बनाएको भन्दै नेकपाभित्रै पनि विवाद हुँदै आएको थियो ।
कोरोना कहरबीच आर्थिक गतिविधि सुस्ताएको, राजस्व संकलन घटेको, आर्थिक वृद्धिद्धर न्यून भएको अवस्था छ । यो समयमा नै अर्थमन्त्री खतिवडाको बहिर्गमन हुन लागेको छ ।
अर्थविद्हरु अर्थतन्त्र सुधारको पक्षबाट डा. खतिवडालाई सफल मन्त्री मान्न नसकिने बताउँछन् ।
अर्थविद् डा. विश्वम्भर प्याकुरेल अर्थतन्त्र सुधार र जनताको पक्षबाट हेर्दा डा. खतिवडालाई सफल मान्न नसकिने तर्क गर्नुहुन्छ ।
यद्यपि, कोभिडले अर्थतन्त्र खुम्चाएको अवस्थामा वैदेशिक लगानी तथा सहायता भित्र्याइ अन्तर्राष्ट्रिय समुदायमा नेपालमा लगानीको वातावरण सकारात्मक छ भन्ने देखाउनु डा. खतिवडाको सकारात्मक पक्ष भएको डा. प्याकुरेलको भनाइ छ ।
कोरोनाकै कहरका कारण शिथिल अर्थतन्त्र सुधार गरी अर्थतन्त्र अघि बढाउन भावी अर्थमन्त्रीका लागि चुनौतीपूर्ण हुने देखिएको छ ।
यस वर्ष कोरोनाकै कारण आर्थिक वृद्धिद्धर २.२८ प्रतिशतमा खुम्चने तथ्यांक विभागले प्रक्षेपण गरेको छ ।
चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिद्धरको लक्ष्य बजेटमा तोकिएको छ । यो लक्ष्य भेटाउन चुनौतीपूर्ण देखिन्छ ।
पाँच लाख बढीले स्वदेशमा रोजगारी गुमाएका छन् भने वैदेशिक रोजगारीबाट फर्कनेको संख्या पनि बढिरहेको छ ।
मुलुकभर बढ्ने बेरोजगारीले गरिबीको संख्यासमेत बढ्नसक्ने भएकोले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने देखिन्छ ।
यता, कोभिडले गर्दा ६० प्रतिशत बढी उद्योग चल्न सकेका छैनन् । विकासे आयोजना ठप्प छन् ।
यस्तो अवस्थामा रोजगारी सिर्जना गर्दै धरमराइरहेको अर्थतन्त्रलाई जोगाउन भावी अर्थमन्त्रीले ठूलै चुनौती सामना गर्नुपर्ने अर्थविद् डा. प्याकुरेल बताउनुहुन्छ ।
कोरोनाकै कारण मूल्यवृद्धि नियन्त्रणमा छैन । स्थायी सरकार बनेपनि ठूला विकासे आयोजनाको प्रगतिको अवस्था सुस्त छ ।
यद्यपि, यी सबै आयोजना तथा परियोजनामा वैदेशिक लगानी भित्र्याउन र वैदेशिक सहायता जुटाउन भने डा. खतिवडाको भूमिका रह्यो ।
विश्व नै आर्थिक मन्दिबाट गुज्रिरहेको बेला नेपालको अर्थतन्त्रलाई सम्हाल्न आउने भावी अर्थमन्त्रीले ठूलै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्