१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कास्कीमा निषेधाज्ञा पुनः एक हप्ता थपियो, चितवनमा भदौ ३१ गतेसम्मलाई लम्बाइयो


0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ ।

कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।

यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गर्नुभएको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

मानिसले बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ ।

सार्वजनिक सवारी साधन संचालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ः०० बजे देखि साँझ ८ः०० बजे सम्म सञ्चालन गर्न सकिने जनाएको छ ।

शैक्षिक लगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ भने तोकिएको मापदण्डमा कार्यालय संचालन गर्नुपर्नेछ ।

कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग संचालन गर्न सकिने आदेशमा भनिएको छ ।

आंशिक रुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७.०० बजेसम्म संचालन गर्न अनुमति पाएका छन् ।

त्यस्तै यता, जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ ।

प्रशासनले विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइनेछ जनाएको छ ।

औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भिडभाड नहुने गरी कार्यालय पनि संचालन गर्न पाइनेछ ।

बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न पाइनेछ ।

यसबाहेक अन्य पसल व्यवसाय भने बन्द हुनेछ । पछिल्लो समय जारी गरीएको निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि सकिदै गर्दा प्रशासनले केही खुकुलो गर्दे पुन: जारी गरेको हो ।