१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सभापति देउवाले विभाग गठन नरोकेपछि पौडेल समूहले बोलायो छुट्टै भेला


0
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि असन्तुष्ट पक्ष थप आक्रोशित बनेको छ ।

सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित बनेको हो ।

सभापति देउवाले पछिल्लो पटक एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गर्नुभएको छ ।

पौडेल समूहले सभापतिका निर्णय फिर्ता गराउन दबाब दिने कार्यक्रम तय गर्न आज आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ ।

विभाग गठनप्रति सुरुदेखि नै असन्तुष्ट बनेको पौडेल समूहले विभाग गठनका निर्णय खारेज गर्न दबाब दिने कार्यक्रमको रणनीति बनाई सशक्त प्रतिरोधमा उत्रने रणनीति बनाउने तयारी गरेको छ ।

यसअघि सो समूहले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाउँदै सभापति देउवालाई विरोधपत्र बुझाएको थियो ।

त्यसपछि पनि देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि पौडेल समूह राजीनामादेखि धर्नासम्म दिनुपर्ने निष्कर्षमा पुगेको छ ।

यसको औपचारिक निर्णय भने आजको बैठकले गर्ने बताइएको छ ।

केन्द्रीय सदस्य गुरु घिमिरेले सुरुमा सभापतिलाई निर्णय सच्याउन ३ दिनको अल्टिमेटम दिने, त्यसपछि धर्ना दिने, त्यसबाट पनि मागको सम्बोधन नभए अनशन बस्ने भन्नेबारे छलफल भइरहेको बताउनुभयो ।

पौडेल समूहले ३ वटा विषयमा असन्तुष्टि जनाएको छ । पहिलो विभाग गठन, दोस्रो क्रियाशील सदस्यता वितरण र तेस्रो भातृसंस्थाको कार्यकाल थप ।

सभापति देउवाले नेपाल विद्यार्थी संघ, तरुण दललगायत नौं भ्रातृसंस्थाको समयावधि नौ महिना थप्नु भएको छ ।

त्यस्तै क्रियाशील सदस्यता वितरणमा पनि पारदर्शिता नअपनाएको पौडेल समूहको आरोप छ ।