
काठमाडौं, भदौ २० । ललितपुरस्थित अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । ३९ वर्षीया गीता केसीको हत्या भएको हो ।
उनको शव ललितपुरको गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा भेटिएको छ ।
हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् ।
उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।
केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।
प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट २०० मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।
शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिनुभयो ।
शवलाई ‘पोस्टमार्टम’का लागि पाटन अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्