
दिवस रिजाल (इमेज)
खोटाङ, भदौ २० । खोटाङको दिक्तेल निकै पुरानो र चर्चित बजार हो ।
‘खोटाङ जिल्ला दिक्तेल बजार…’ बोलको गीतको रौनक जति छ, यो बजारको रौनक भने त्यति छैन ।
कच्ची सडक र पुरानो संरचनाले कुरुप देखिने दिक्तेल बजारको रौनक बढाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने देखिन्छ ।
उक्त गीतले भनेझैं कुनैबेला दिक्तेल बजारको चर्चा निकै थियो । यही बजारमार्फत् मायालु जोडीहरुले विगतको सम्झनालाई यादगर बनाइराख्दथे ।
तर, पछिल्लो समयमा न गीतको चर्चा छ, न त दिक्तेल बजारको । झुरुप्प बस्ती भएको यो दिक्तेल बजार कुनै समय पूर्वाञ्चलकै मुख्य व्यापारिक केन्द्र थियो ।
बाहिरबाट हेर्दा बजार जति आकर्षक देखिन्छ, बजारभित्रका संरचनामा खासै परिवर्तन आउन सकेको थिएन । बजारभित्रका धुले र हिलाम्मे सडक अहिले बल्ल पिच हुन थालेका छन् ।
बजारभित्र यातायात सञ्चालन गर्ने बजारबासीको लामो सपना पूरा भएसँगै बजार सफा र सुन्दरसमेत देखिँदै गएको छ ।
यातायात सञ्चालन भएको १३ वर्षसम्म धुलाम्मे अवस्थामै रहेको यो बजारको साँघुरो कच्ची सडकमा ढिलै भएपनि ढलानको काम थालिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, १ नम्बर प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा ढलान भएको बजारमा चारपांग्रे गाडी, मोटरसाइकललगायतका सवारी साधन चलाउन सहजमात्र भएको छैन, यसले कुरुप बजारलाई रुपमा बदलिदिएको छ ।
बन्दाबन्दीमा पनि निर्माण सामग्रीको अभाव हुन नदिइ निर्माण कम्पनीले आवश्यक सामग्री जुटाएर ढलान गरेपछि हिलो र धुलोको समस्या हल भएको होटल व्यवसायी समुन्द्र जोशीले बताउनुभयो ।
पूर्वाञ्चलमा आफ्नै हैसियत राख्ने यो बजारले ढिलै भएपनि रौनकता फेरेकोमा बजारबासीसमेत दंग छन् ।
करिब १५ करोड लगानीमा सम्पन्न हुने यस सडकका लागि यस वर्षमात्र नौ करोड ७० लाख रुपैयाँको काम हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।
जिल्लाका १० स्थानीय तहको तुलनामा भौतिक पूर्वाधार निर्माणमा यो नगरपालिका अगाडि देखिन्छ ।
त्यसैलेपनि खोटाङको यो दिक्तेल बजारको ऐतिहासिकता र सौन्दर्यता कायम राख्न भौतिक पूर्वाधारमा जोड दिनुपर्ने देखिन्छ ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्