२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बागलुुङ बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १६ पुग्यो, २२ अझै बेपत्ता


0
Shares

बागलुङ, भदौ २० । बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

शनिबार दिउँसो बडीगाड गाउँपालिका वडा नम्बर-५, न्वारमा बडिगाडखोलाको किनारमा दुईओटा शव फेलापरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

फेलापरेकामध्ये दुई शवको सनाखत हुनसकेको छैन ।

बाढी-पहिरोमा परेका २२ जना अझै बेपत्ता छन् । नेपाली सेना र नेपाल प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको छ ।

यही भदौ १७ गते राति आएको बाढी र पहिरोले ८० घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ ।

पाँचओटा लघुजलविद्युत्, छओटा नहर, स्वास्थ्य एकाइ एक, झोलुंगेपुल ११, ढलानपुल पाँच, काठेपुल १० र दुई विद्यालयमा क्षति पुगेको नगरपालिकाले विज्ञप्ति जारी गरेर जनाएको छ ।