
काठमाडौं, भदौ २० । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई ‘होल्डिङ सेन्टर’बाट घर पठाउने नाममा ठग्नेक्रम बढेको आरोप लगाएका छन् ।
विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउनेक्रममा गाडी भाडामा ठगी भएको उनीहरुले आरोप लगाएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले अमुक व्यक्तिहरुले ‘सेटिङ’मा यात्रुलाई ओसार्ने काम गरिरहेको बताउनुभयो ।
व्यवसायीले सहज र सुलभ दरमा यात्रुलाई बोक्छौं भनेर पटक-पटक गरेको आग्रहको बेवास्ता गर्दै सरोकारवाला निकायले नै यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्ने काम गरेको उहाँले दाबी गर्नुभयो ।
आफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने उहाँले बताउनुभयो ।
कोरोना संक्रमण भए/नभएको एकिन गरी होल्डिङ सेन्टरबाट गन्तव्यमा पुर्याउने गरी वैज्ञानिक व्यवस्थापन हुनुपर्ने महासंघको माग छ ।
वास्तविक व्यवसायीहरुले वैज्ञानिक तरिकाले गाडी शुल्क पाउनुपर्ने र यात्रुलाई ठगिनबाट रोक्नुपर्ने उहाँले बताउनुभयो ।
यसैबीच, नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पुर्याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ ।
सोही मागसहित ज्ञापनपत्र बुझाउन संगठनका पदाधिकारी गएपनि होल्डिङ सेन्टरबाट ज्ञापनपत्र नबुझेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्