
बिराज रोस्यार (इमेज)
कैलाली, भदौ २० । कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ ।
भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले गुजारा चलाउनै अप्ठेरो भएको भन्दै भारत छिर्न थालेका हुन् ।
पाँच महिनाअघि कैयौं दिन पैदल हिँडेर घर फर्केका नेपालीहरु रोजगारीका लागि कैलालीको टीकापुर नाकाबाट भारत जान थालेका छन् ।
लामो ‘लकडाउन’ र अहिले निषेधाज्ञाले दैनिकी चलाउन मुस्किल भएपछि बाध्य भएर भारततर्फ जान लागेको उनीहरुको भनाइ छ ।
सरकारले गाउँमा रोजगारी सिर्जना गर्न नसक्दा दैनिक छाक टार्न मुग्लान पस्नुपरेको उनीहरुको भनाइ छ ।
भारतको रोजगारीमै परिवार निर्भर रहेकाले कोरोनाको महामारी भएपनि उतै लाग्न बाध्य भएको उनीहरुले बताएका छन् ।
भारतमा कोरोना संक्रमण दर बढिरहेको जानकारी भएपनि उनीहरू कामका लागि भारत जान बाध्य छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पछिल्ला दिनमा भारतबाट फर्किनेभन्दा जानेको संख्या बढ्दै गएको बताउनुभयो ।
सरकारले रोजगारीको सिर्जनाका कुनै काम गर्न नसकेकोले नेपालीहरु भारत जानुपर्ने बाध्यता लज्जास्पद रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो ।
कोरोना महामारीले स्वदेश फर्केको युवा जनशक्तिलाई उद्यम र देश निर्माणमा लगाउनुपर्ने उहाँको सुझाव छ ।
भारतमा अधिकांश नेपालीले न्यून ज्यालामा कठिन काम गर्ने गरेका छन् ।
कुनैबेला लामो समय भारतमा काम गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रोजगारीका अवसरहरू सिर्जना गरेर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने बताउँदै आएपनि प्रदेशमा रोजगारी सिर्जना गर्ने योजना र कार्यक्रमहरू सञ्चालन हुनसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्