१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनलाइन कारोबारका लगानीकर्ता बढे


0
Shares

विराटनगर, भदौ २० । कोरोनाभाइरसको महामारीका कारण लगानीका अन्य क्षेत्र खुम्चिँदै गएका बेला सेयरबजार लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ ।

भौतिक उपस्थितिविनै अनलाइनबाट कारोबार गर्न सकिने भएकाले सेयरबजारमा देशैभरका लगानीकर्ता आकर्षित भएका हुन् ।

पछिल्लो समय विराटनगरमा अनलाइनमार्फत् सेयर कारोबार गर्नेहरू बढेका छन् । विराटनगरका सेयर ब्रोकर कार्यालयहरूमा ३५ देखि ४० प्रतिशतसम्म सेयर अनलाइनबाट कारोबार भइरहेको ब्रोकरहरूले बताएका छन् ।

विराटनगरस्थित अग्रवाल अनलाइनबाट सेयर खरिद-बिक्री गर्न सजिलो भएकाले अनलाइन कारोबारतर्फ आकर्षित भएका बताउँछन् ।

‘लकडाउन’अघि ५ प्रतिशत ग्राहकलेमात्रै अनलाइनबाट सेयरको कारोबार गर्दै आएका थिए । तर, अहिले अग्रवाल सेक्यूरिटिजका ५० प्रतिशत ग्राहकले अनलाइनबाटै सेयर कारोबार गर्न थालिसकेको विनोद अग्रवालले बताउनुभयो ।

विराटनगरस्थित श्रीकृष्ण सेक्युरिटिज प्रालिका शाखा प्रबन्धक विनित अग्रवालले लकडाउनका कारण अनलाइन कारोबार गर्ने ग्राहक २० देखि २५ प्रतिशतले बढेको जानकारी दिनुभयो ।

कोरोनाको संक्रमणको त्रासका बीच अनलाइनबाट घरमै बसेर कारोबार गर्न सजिलो भएको सेयर लगानीकर्ता मिथिलेशकुमार मिश्रले बताउनुभयो ।

कोरोनाभाइरसको महामारीका कारण लगानीका अन्य क्षेत्रहरू प्रायः ठप्प भएपनि सेयरबजारमा खासै असर नपरेको ब्रोकरहरू बताउँछन् ।

पछिल्लो समय लगानीका अन्य क्षेत्रहरू खुम्चिँदै गएको र बैंकको ब्याजदर घटेका कारण लगानीकर्ताहरू सेयरबजारमा आकर्षित भएका छन् ।

सेयरबजारमा अनलाइन कारोबार सुरू भएपनि अझैसम्म पूर्ण अनलाइन भने हुनसकेको छैन ।

सेयर खरिद गरेपछि चेक बुझाउन र बिक्री गरेपछि चेक लिन ब्रोकर कार्यालय नै धाउनुपर्ने बाध्यता अझैपनि कायमै छ ।