१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चन्द समूहका नेता शर्मा अस्पतालबाटै पक्राउ


0
Shares

भरतपुर, भदौ २० । नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ ।

भरतपुर अस्पतालमा उपचाररत् उहाँलाई प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको छ ।

उहाँलाई भरतपुर अस्पतालले ‘डिस्चार्ज’ गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्दा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौं । उहाँलाई धनुषा पठाउँछौं ।’

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उहाँलाई प्रहरी कार्यालय पुर्‍याइएको छ ।

धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिनुभयो ।

नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आउनुभएको थियो ।

सोही बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पुर्‍याएको थियो । नेता विरही चन्द समूहका प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ । रासस