
पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ ।
पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ ।
समुदायमा पुगेर स्वाब सङ्कलन गरिएका ९४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट टे«ेसिङमा परेका २४० जनाको पनि नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो ।
उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पर्वतमा गत चैत ११ गतेपछि भारतबाट एक हजार ११३ र भारतबाहेक तेस्रो मुलुकबाट ३६१ व्यक्ति जिल्ला भित्रिएका छन् ।
उनीहरुसहित हालसम्म पर्वतमा दुई हजार १४० पुरुष र ३७८ महिला गरी दुई हजार ५१८ जनाको पिसीआर परीक्षण गरिएको छ ।
पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङका गरी जम्मा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तीमध्ये १०३ उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले छ सङ्क्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार ती सङ्क्रमितको भोलि सोमबार स्वाब सङ्कलन गरी पुनः परीक्षणका लागि पठाइने छ ।
उनीहरुमा कुनै लक्षण देखिएको छैन । एजेन्सी
प्रतिक्रिया दिनुहोस्