१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यूएफा नेसन्स लिगमा क्रोएसियामाथि पोर्चुगलको शानदार जित


0
Shares

काठमाडौं । साबिक विजेता पोर्चुगलले यूएफा नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि शानदार जित निकालेको छ ।

गएराति भएको लिग ‘ए’ समूह–३ को खेलमा झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहेपनि पोर्चुगलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको हो ।

खेलको ४२ औं मिनेटमा जोआओ क्यानसेलोले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए ।

यस्तै ५९ औं मिनेटमा डिओगो जोटा, ७१ औं मिनेटमा जोआओ फेलिक्स र इन्जुरी समयमा आन्द्रे सिल्भाले गोल गरेका थिए ।

क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काएका थिए । सोही समूहको अर्को खेलमा फ्रान्सले स्विडेनलाई १–० ले हराएको छ ।

फ्रान्सको जितमा केलियन एम्बाप्पेले ४१ औं मिनेटमा विजयी गोल गरे । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाए पनि एन्टोइन ग्रिजम्यानले सदुपयोग गर्न सकेनन् ।

गएराति नै भएको अर्को खेलमा आइसल्याण्डलाई १–० गोल अन्तरले हराउँदै इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।

आइसल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरेका थिए ।

दुबै टिम १० खेलाडीमा समेटिएको खेलको अतिरिक्त समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।

जितसँगै लिग ’ए’ समूह–२ मा इंग्ल्यान्डले ३ अंक जोडेको छ । सोही समूहको खेलमा बेल्जियमले डेनमार्कलाई २–० ले हराएको छ ।

गत विश्वकपको सेमिफाईनल खेलेको बेल्जियमले डेनमार्कबिरुद्ध सहज जित निकालेको हो । बेल्जियमको जितमा जेसन डेनियर र डेरिस मार्टेन्सले एक–एक गोल गरेका थिए ।

यसैगरी गएराति नै भएका अन्य खेलहरुमा लिग ‘सी’ समूह–२ मा नर्थ म्यासेडोनियाले अर्मेनियालाइ २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा जर्जियाले इस्टोनियालाई १–० ले हराएको छ ।

लिग ‘डी’ समूह –२ को खेलमा ज्रिबाल्टारले सान मारिनोलाई १–० ले हराएको छ ।

सी’ समूह–१ अन्तर्गत भएको खेलमा लक्जेमवगले अजरवैजानलाई २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा मोन्टेनेग्रोले साइप्रसलाई २–० पराजित गरेको छ । एजेन्सी