८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुपाल्चोकमा जिसस प्रमुख तामाङकै `सेटिङ`मा बालुवा तस्करी र राजश्व छली


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सेटिङमा बालुवा तस्करी एवंम् राजस्व छलि हुने गरेको तथ्य बाहिरिएको छ ।

यस्ता कार्यमा जिल्लाका उच्च पदस्थ व्यक्तिहरु संलग्न रहेको कुरा बाहिरिएको हो । बालुवा तस्कर र राजश्व छलीमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संलग्नता रहेको पुष्टि भएको छ ।

असार देखि भदौ महिनासम्म नदिजन्य पदार्थ उत्खननमा प्रदेश सरकारले रोक लगाएको छ । तर सिन्धुपाल्चोकमा दैनिक गिट्टी बालुवा बोकेका ट्रक बन्देउबाट बाहिरिने गरेका छन् ।

यसले पनि पुष्टि हुन्छ सरकारले रोक लगाए पनि सिन्धुपाल्चोकमा अवैध नदीजन्य पदार्थ उत्खनन् कार्य भइरहेक छ ।

अवैध रुपमा बालुवा ओसारपसारमा संलग्न ट्रकलाई बन्देउबाट प्रहरीले नियन्त्रणमा लिइ कारबाहिको लागि समन्वय समितिमा बुझाए पनि समन्वय प्रमुख तामाङले फर्जि कागजात बनाएर छाड्ने गरेको तथ्य फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नदीजन्य उत्खनन बन्द रहेकाले त्यस्ता ट्रक नियन्त्रणमा लिई कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाउने गरिएको छ ।

पछिल्लो समय २८ वटा बालुवा बोकेका ट्रकलाई प्रहरीले जिल्ला समन्वयमा बुझाएको थियो । तर समन्वय समितिका अध्यक्षले कारोबार मिलाउँदै गाडी छुटाएको पाइएको हो ।

गत साउन १४ गते रातको १ बजे जिल्ला समन्वय समितिको कार्यालयले तोकेको शुल्क नतिरि बालुवा लिएर गुडेको बा ४ ख ५८६४ नम्बरको ट्रिपर सशस्त्र प्रहरी बल बन्देउले नियन्त्रयामा लिइ समन्वय समितिमा बुझाएको थियो ।

बालुवा खरिद बिल र राजस्व तिरेको कुनै पनि बिल साथमा नभएकोले नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ ।

तर, १४ गते नियन्त्रणमा लिएको ट्रिपरलाई १६ गते काटिएको बिलको आधारमा समन्वय प्रमुख तामाङले छाड्ने आदेश दिएपछि विना जरिवाना ट्रिपरलाइ छाडिएको पाइएको छ ।

१४ गते प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रिपर चालकले काली/साँगा निर्माण जे भि को १६ गते काटिएको ३९७ नम्बरको राजस्व बिल र सिन्धु स्टोन एण्ड कन्ट्रक्सन कम्पनि प्रालि को १४ गते काटिएको १७८ नम्बरको बालुवा खरिद बिल पेस गरेका थिए ।

जिल्ला समन्वय समितिको भाद्र १७ गतेको बैठकले सार्वजनिक गरेको क्रसरहरुले बुझाएको मौजात विवरणमा सिन्धु स्टोन कन्ट्रक्सनले आफुसंग बालुवा मौजात नरहेको उल्लेख गरेको छ ।

उक्त क्रसरले आफुसंग नभएको सामानको बिल कसरी बनायो ? १४ गते नियन्त्रणमा लिएको ट्रिपरलाई १६ गतेको बिलको आधारमा कसरी छाड्न मिल्यो ? यिनै प्रमाणले प्रष्ट भन्छ जिल्ला समन्वय प्रमुख बालुवा तस्करीमा मात्र हैन राजस्व छलिमा समेत सम्लग्न छन् ।

प्रदेश सरकारबाट स्वीकृत नदिजन्य पदार्थ उत्खनन् कार्यबिधि २०७५ अनुसार असार, साउन र भदौ महिनामा दिनको समय (बिहान ६ साँझ ६ बजे भित्र) नदिजन्य पदार्थ उत्खननमा स्काभेटरको प्रयोग भएमा १ लाख रातको समय (साँझ ६ देखि विहान ६ बजेसम्म) मा प्रयोग भएको पाइएमा २ लाख जरिवाना गरिने उल्लेख छ ।

त्यस्तै अबैध रुपमा निकासी गरिएको नदिजन्य पदार्थ बोकेको पाइएमा ट्रिपरलाइ ३० हजार, मिनि ट्रिपरलाइ २० हजार र ट्रयाक्टरलाई १५ हजार जरिवाना तिराइने उल्लेख छ ।

साथै रातको समयमा ओसारपसारमा संलग्न भएको पाइएमा त्यसको दोब्बर जरिवाना लाग्ने छ ।

सरकारले तोकेको निति अनुसार ६० हजार जरिवाना तिर्नुपर्ने ट्रिपरलाइ समन्वय प्रमुखले निर्दोष साबित गर्दै छाडिदिएका छन् ।