
काठमाडौं । केही दिन अघि पूर्णता पाएको नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीका सबै गतिविधि र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।
विभागीय प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको दुई दिने बैठकले कांग्रेसलाई सूचना, संचार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री (डिजिट्लाइज्ड) बनाउंदै अघि बढ्ने निर्णय गरेको हो ।
प्रविधि मैत्री अभियान’ अन्तर्गत पहिलो चरणमा पार्टीको वेभसाइटलाई अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने तयारी थालिएको विभागका सचिब दिनेश थापा मगरले जानकारी दिए ।
बैठकले कांग्रेसको बिधानको धारा ३७ को (ज) बमोजिम विभिन्न उपसमिति गठन गर्दै संयोजकहरु तोकेको छ । साथै ‘कांग्रेस सूचना नेटवर्क’का लागि बिषयगत योग्यताका आधारमा प्रदेशस्तरीय जिम्मेवारी ब्यवस्थापन पनि गर्न लागिएको सचिब थापा मगरले बताए ।
सामाजिक संजालहरुलाई थप शसक्त बनाइ सूचना प्रवाह चुस्त राख्ने साथै केन्द्रीय मुखपत्र ‘नेपाल पुकार’ प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय भएको छ ।
बैठकले ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ लगायत ७ वटा उपसमिति पनि गठन गरेको छ ।
‘कोभिड–१९ सूचना संयोजन उपसमितिमा नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा.अन्जनी झालाई बैठकले संयोजकको जिम्मेवारी दिएको छ ।
त्यस्तै, वेबसाईट संयोजन उपसमितिमा गोवर्धन राना मगर, छ्हारी संवाद संयोजन उपसमितिमा डा.सुरेश आचार्य, प्रविधि संयोजनमा दिपेश विष्ट साथै टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमितिमा नीर शाहलाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै, रेडियो नेटवर्क सूचना संयोजन उपसमितिमा गोपाल झा, नियमित सूचना सम्प्रेषण संयोजन उपसमितिमा दिनेश थापा मगरलाई जिम्मेवारी तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्