
काठमाडौं, असार ३२ । अंग्रेजी भाषाको बढ्दो प्रयोगका कारण नेपाली भाषा संकटमा पर्दै गएको भाषाविद्हरुले बताएका छन् ।
अंग्रेजी भाषाको बढ्दो प्रयोगका कारण अबको तीन पुस्तापछि नेपाली भाषाले गम्भीर संकटको अवस्था झेल्नुपर्ने उनीहरुको चेतावनी छ ।
भाषा आयोगले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले शिक्षा ऐनमा माध्यम भाषा नेपाली वा अंग्रेजी भनेर उल्लेख गर्नु नै त्रुटिपूर्ण रहेको बताए ।
बाह्य भाषाको प्रयोग बढाएर मातृभाषीलाई बेवास्ता गरिए त्यसले मुलुकको अस्तित्वनै जोखिममा पार्ने उनको दाबी थियो ।
अध्यक्ष डा. अवस्थीले मातृभाषालाई जगमा राखेर अंग्रेजी भाषा सिकाउन सकेमात्र मातृभाषाको संरक्षण हुने बताए ।
कार्यक्रममा भाषा आयोगका प्रवक्ता गणेश भटट्राईले आयोगले हाल संकटमा परेका २९ ओटा भाषाहरुको संरक्षण गर्न सुरु गरेको जानकारी दिए ।
भाषा विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. बलराम प्रसाइँले दुरा, कुसुन्डा, तिरुङ भाषा लोप हुँदै गएको भन्दै धेरै भाषाहरुलाई दस्तावेजीकरण गर्न आवश्यक रहेकोमा जोड दिए ।
आयोग गठन भएको दुई वर्ष भइसक्दा पनि आयोगले अझै पूर्णता पाउन सकेको छैन । आयोगले सरकारलाई दिएको सुझाव पनि कार्यान्वयनमा आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्